काठमाण्डौ । भारत र नेपालक कैयन अटोमोवाइल कम्पनी आफ्नो सर्भिस सेन्टरमा गाडीलाई सफा गर्न वाटरलेस कार वास सिस्टमको प्रयोग गरिरहेका छन् । हालै मर्सिडिज बेञ्जले भारतमा वाटरलेस कार वास सोल्युसनको सुरुवात गरेको छ । 

मर्सिडिज बेञ्जले भारतमा क्वीक एण्ड क्लीन प्रडक्ट लञ्च गरेको मिडियाहरुले जनाएका छन् । यसअघि मारुती सुजुकी, हुण्डाई तथा निशानले पनि आफ्नो सर्भिस सेन्टरमा वाटरलेस कार वास सिस्टमको सुरुवात गरिसकेका छन् । तर, तपाईले कुनै कार सर्भिस सेन्टरमा नगई आफैंले पनि आफ्नो कारलाई पानीबिना नै सफा गर्न सक्नुुहुन्छ । हामी यहाँ तपाईलाई यो काम कसरी गर्न सकिन्छ भन्ने बिषयमा बताउन गइरहेका छौ । यो सिस्टमले काठमाण्डौजस्तो ठाउँमा पानीको मात्र होइन, तपाईको समयको पनि बचत गरिदिन्छ ।

के हो वारटलेस कारको वास ?
वारटलेस कार वास त्यो तरिका हो, जहाँ तपाईले वाटरलेस वास सोल्युसनलाई आफ्नो कारमा स्प्रे गर्नुहुन्छ र सफा कपडाले त्यसलाई सुख्खा बनाउनुहुन्छ । यसले तपाईको पानी मात्र बचाइदिंदैन, पानीको सहयोगले कार धुँदा लाग्ने समयको पनि बचत हुन्छ । यो प्रक्रियाको प्रयोग हलुका तथा मध्यम स्तरमा फोहोर भएको कारमा मात्र गर्न सकिन्छ । 

के–के चाहिन्छ ?
एउटा वाटरलेस कार सोल्यूसन, एक कार डस्टर तथा २ देखि ३ वटासम्म माइक्रोफाइबर कपडा आवश्यक पर्छ । बजारमा कैयन प्रकारका वाटरलेस कार वास प्रडक्ट्स खरीद गर्न पाइन्छ । केही कम्पनीले स्प्रे बोतलको साथमा यस्ता प्रडक्ट उपलब्ध गराउँछन् भने कतिपयले सामान्य र सानो प्याकमा उपलब्ध गराउँछन् । आम रुपमा सानो र सामान्य प्याकमा प्राप्त हुने प्रडक्ट खरीद गर्नु फाइदाजनक हुन्छ । 

पहिला कार डस्टरको प्रयोग गर्ने
वाटरलेस वास सोल्युसनको प्रयोगअघि नै राम्रो गुणस्तरको कार डस्टरले कारको सफाई गर्नुपर्दछ । यसले धूलोबाट पेन्ट खराब हुने वा स्क्र्याच हुनसक्ने खतरा न्यून पारिदिन्छ । 

यो क्रममा वाटरलेस वास लिक्वीड निकै तीव्र गतिमा सुक्छ । त्यसकारण तपाईले आफ्नो कारको एउटा प्यानल सफा गरेर मात्रै अर्को प्यानलमा जानुपर्ने हुन्छ । तपाईले कारको बडीमा स्प्रे गरेको लगत्तै सफा गरिहाल्नुुपर्छ । 

स्प्रे गरिसकेपछि सिधा लाइनमा हलुका प्रेसरको साथमा माइक्रोफाइबर कपडाको टुक्राले सफा गर्नुपर्छ । कपडा कति सफा छ या छैन, यसमा पनि विशेष ध्यान दिनुुहोस् । यदि एकातिरको कपडा मैलो भइसकेको छ भने त्यसको अर्कोतिरबाट कारलाई सफा गर्न सकिन्छ । कपडालाई गोलाकार रुपमा घुमाउँदै कार सफा गर्न थालियो भने यसले धूलो पूर्ण रुपमा सफा गर्न सक्दैन । 

कारको पांग्राको सफाई समेत माथि उल्लेख गरेअनुसार नै गर्नुपर्छ । एकपटकमा केवल एउटा पांग्राको मात्र सफाई गर्नुहोस् । किनभने कारको सबैभन्दा फोहोर हिस्सा पांग्रा नै हुन्छ, यसकारण यसलाई सफाई गर्ने अलग्गै कपडा तयार गरेर राख्नुुपर्छ ।