काठमाण्डौ । बिमा समितिले जीवन र निर्जीवन बिमा कम्पनीहरुको चुक्तापूँजी ०७५ असारसम्ममा क्रमशः २ र १ अर्ब बनाउनुपर्ने व्यवस्था गरेसँगै बिमा कम्पनीहरुलाई पूँजीवृद्धिको योजना पेश गर्ने चटारो छ । बिमा कम्पनीहरुले हकप्रद र बोनस सेयर जारी गरेर तोकिएको पूँजीको लक्ष्य हासिल गर्ने योजना धमाधम बिमा समिति र अन्य नियामक निकायमा बुुझाउन थालेपछि त्यसको प्रत्यक्ष प्रभाव दोश्रो बजारमा परेको छ । 

‘वाणिज्य बैंक सेयर बजारको स्थायी हिरो समूह हो, यसलाई अन्य समूहले छायाँमा पारिरहने प्रश्नै उठ्दैन, केही समयपछि वाणिज्य बैंक पनि उकालो लाग्छन् ।’

बिमाको दिन सुरु भएको ठहर गर्दै लगानीकर्ताहरुले बिमा कम्पनीको सेयर धमाधम खरीद गरिरहेका छन् । बिमाकै देनका कारण कारोबार रकम फेरि उचाईमा पुुग्न थालेको छ भने बिमा कम्पनीहरुले दैनिकजसो कमाउन थालेका छन् । बिमाको युुगमा आफूलाई यात्री बनाउने लगानीकर्ताको संख्या बढेकै कारण अरुबेला बजारमा चमकधमक हुने वाणिज्य बैंकहरु सुस्ताएका छन् । राम्रो बित्तीय विवरण पस्कने वाणिज्य बैंकहरुमा समेत खरीदको औधी चाप छैन । बरु अधिकांश वाणिज्य बैंकहरुको मूल्य आइतबारदेखि दैनिकजसो घट्दो क्रममा छ । 

बुधबारको कारोबारमा समेत अधिकांश वाणिज्य बैंकले सम्पत्ति गुमाएका छन् । बुधबार निकै आकर्षक वार्षिक प्रगति विवरण सार्वजनिक गरेका कारण ग्लोबल आइएमई बैंकको मूल्य २.०५१ प्रतिशतले वृद्धि भएको छ । नबील बैंकको सेयर मूल्य ०.४९ प्रतिशत तथा हिमालयन बैंकको मूल्य ०.३३ प्रतिशतले वृद्धि भएको छ । बाँकी सबै वाणिज्य बैंकले यो दिन गुमाउनु परेको छ । 

कसले कति गुमाए ?
बुधबार सबैभन्दा बढी कृषि विकास बैंकको सेयर मूल्य घटेको छ । यो बैंकका सेयरधनीले १.७४ प्रतिशतले सम्पत्ति गुमाएका छन् । सिभिल बैंक लिमीटेडको मूल्य १.५४ प्रतिशतले घटेको छ । यस्तै, एसबीआई बैंकका सेयरधनीले १.३७ प्रतिशत, लक्ष्मी बैंकले १.०९, एनसीसी बैंकले १.०५, एभरेष्ट बैंकले ०.८७, एनआइसी एशियाले ०.८६ प्रतिशतले सम्पत्ति गुमाएका छन् । 

नेपाल इन्भेष्टमेन्ट बैंकले ०.७७ प्रतिशत, सनराइज बैंकले ०.७६, एनबी बैंकले ०.७४, सेञ्चुरी बैंकले ०.७४, स्ट्याण्डर्ड चार्टर्डले ०.४६, एनएमबी बैंकले ०.३७, जनता बैंक नेपालले ०.३४, नेपाल बैंकले ०.२६, प्राइम कमर्सियल बैंकले ०.२३, सानिमा बैंकले ०.२३ प्रतिशतले सम्पत्ति गुमाएका छन्। 

सानिमा बैंकले बुधबार मात्र वार्षिक प्रगति विवरण सार्वजनिक गरे पनि त्यसले बजारमा कुनै प्रभाव पार्न सकेन । 

बैंक अफ काठमाण्डूले ०.२१ र सिद्धार्थ बैंकले पनि ०.२१ प्रतिशत सम्पत्ति गुमाएका छन् ।  

बजारका जानकारहरुले बिमा कम्पनीहरुले पूँजीवृद्धिको योजना बुुझाइरहेको अवस्थामा केही समयसम्म यो समूहको बोलवाला चल्नुुलाई सामान्य भनेका छन् । ‘कतिपयले सामाजिक सञ्जालमा अब वाणिज्य बैंकका दिन केही महिनाका लागि गए भन्ने जस्ता कुरा लेखेको देखिन्छ, यो सत्य होइन ।’ एक जानकारले भने–‘वाणिज्य बैंक सेयर बजारको स्थायी हिरो समूह हो, यसलाई अन्य समूहले छायाँमा पारिरहने प्रश्नै उठ्दैन, केही समयपछि वाणिज्य बैंक पनि उकालो लाग्छन् ।’ ती जानकारले बजारमा बिमाको सिजन आएको बेला अत्तालिएर वाणिज्य बैंकको सेयर बिक्री नगर्न समेत लगानीकर्तालाई आग्रह गरेका छन् । 

वार्षिक प्रगति विवरण आउन थालेपछि वाणिज्य बैंकमा समेत राम्रै बढोत्तरी  होला भनेर सेयर खरीदारी बढाएका सर्ट टर्म कारोबारीहरुलाई भने अहिलेको बजारको बिमा केन्द्रीत प्रवृतिले घाटा लाग्नसक्ने देखिन्छ ।