काठमाण्डौ । दिनहुँजसो उछालको अनवरत यात्रा गरिरहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सोमबार भने ब्रेक लागेको छ । बुलिस टेन्डमा दौडिरहेको नेप्से सोमबार ६.६८ अंकले करेक्सन भई १३१२.२० अंकमा आइपुगेको हो । 
 

केही दिनअघि नेपाल धितोपत्र बोर्डले अस्वभाविक रुपमा बढिरहेको बजारमा सम्हालिएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको थियो । अर्थतन्त्रका अन्य सूचक सकारात्मक नभएको बेला शेयर बजारको सूचक अस्वभाविक रुपमा बढेकोप्रति चिन्ता व्यक्त गर्दै बोर्डले बजार जुनसुकै बेला ओरालोतर्फ लाग्ने भनी सचेत गराएका कारण समेत सोमबारको परिसूचक घटेको देखिएको छ । 
 

यसअघि नेप्सेको बुलिस यात्रा तय गर्न महत्वपूर्ण भूमिका खेलेका बैंक तथा बिमा समूहकै सूचक घट्दा समग्र नेप्से परिसूचक ६.६८ अंकले घटेको हो । 
 

साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा सामान्य सुधार भए पनि कारोबार रकम १ अर्ब नाघेको थियो । तर सोमबार नेप्सेमा ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । आइतबार १ अर्ब माथि भएको कारोबार सोमबार ६५ करोड ९६ लाखमा आइपुगेको छ । सोमबार १० लाख ८० हजार कित्ता शेयर ३ हजार १ सय ९ वटा कारोबारबाट किनबेच भएका थिए । 
 

अन्य समयमा एकैदिन १ सय अंकले बढी बजारमा उछाल ल्याउने प्रमुख कारक मानिएको बिमा समूहको सूचक सोमबार भने एकैदिन ८७.९५ अंकले घटेको छ । वाणिज्य बैंकको सूचक पनि ६.३८ अंकले घटेको छ । बित्त कम्पनी र होटेल समूहको सूचक पनि ओरालो नै लागे । 
 

जलविद्युत समूहको सूचक भने ३१.६७ अंकले उकालो लागेको छ । सोमबार बजारमा अपी पावर, अरुण भ्याली हाइडो पावर र चिलिमे हाइडोको शेयर कारोबार चम्कियो । सोमबार सबैभन्दा धेरै शेयर कारोबारको रेकर्ड प्रिमियर इन्स्योरेन्सले बनाएको छ । नेपाल ग्रामीण विकास बैंक सिद्धार्थ इन्स्योरेन्स, अरुण भ्याली हाइडो पावरको शेयर कारोबार पनि चम्कियो । भक्तपुर फाइनान्सका लगानीकर्ताको प्रति कित्ता शेयरमा एकैदिन १६ रुपैयाँले वृद्धि भएको छ भने अपी पावरका लगानीकर्ता ९.९१ प्रतिशतले शेयर मूल्य बढाउँदा शुभेच्छा विकास बैंकका शेयरधनीले चाहि सबैभन्दा धेरै गुमाउनुपरेको छ । 
 

सोमबार सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः १.५८ र ०.५१ अंकले घटे ।