काठमाण्डौ । अमेरिकी अधिकारीहरुले चरमपन्थीहरुको खतरालाई मध्यनजर गर्दै सबै अन्तर्राष्ट्रिय उडानहरुमा यात्रा गर्ने यात्रुहरुले साथमा ल्यापटप राख्न नपाउने नियम लागू गर्ने बिषयमा तयारी थालेका छन् । 

बीबीसीका अनुसार अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागका प्रमुख जोन केलीले भनेका छन् कि चरमपन्थीहरुले कुनै अमेरिकी विमानलाई बमले उडाइदिने षड्यन्त्र रच्नसक्छन् र यहीकारण यो खतरा वास्तविक पनि हो । 

अमेरिकाले यसअघि नै आठ देशहरुमा अमेरिका आउने र जाने बिमानमा ल्यापटप लैजान प्रतिबन्ध लगाइसकेको छ । ती आठ देशमा अधिकतर मध्यपूर्वका मुस्लिम देशहरु छन् । 

दुुई हप्ताअघि अधिकारीहरुले अमेरिका र यूरोपबीच उड्ने बिमानमा यो प्रतिबन्ध लागूू नगर्ने निर्णय गरेका भए पनि केलीको टिप्पणीपछि अमेरिकाको सो निर्णयमाथि पुनर्विचार हुनसक्ने संभावना देखिएको छ । 

जोन केलीले टेलिभिजन च्यानल फक्स न्यूजसँगको एक अन्तर्वार्ताको क्रममा ल्यापटप बिमानमा लैजान प्रतिबन्ध लाग्नसक्ने बिषय बताएका थिए । अन्तर्वार्ताकारले उनलाई ब्रिटेनको म्यानचेस्टर शहरमा भएको बम हमलापछि चरमपन्थीहरुको सामना गर्ने प्रयासको बिषयमा प्रश्न सोधेका थिए।

केलीले सो क्रममा भनेका छन्–‘हामी निरन्तर गुप्तचरहरुबाट गोप्य जानकारी लिइरहेका छौ । खतरा वास्तवमै निकै ठूलो छ । यो खतरा कुन दिशातर्फ जान्छ, त्यसलाई हेरेर हामी निर्णयमा पुुग्छौ ।’ 

अमेरिकाले गत मार्चमा आठ देशहरुमा हुने दोहोरो उडानको क्याबिनमा स्मार्टफोनभन्दा ठूलो कुनै पनि डिभाइस लैजान प्रतिबन्ध लगाएको थियो । ती देशहरु थिए ः तुर्किस्तान, मोरक्को, जोर्डन, मिस्र, युएई, कतार, साउदी अरब र कुवेत । ब्रिटेनले समेत ६ देशको उडानमा यस्तै प्रतिबन्ध लगाएको थियो । 

उता, हवाई सुरक्षा अधिकारीहरुले भने बिमानको लगेजमा ठूला विद्युतीय उपकरण लैजान दिंदा त्यसमा रहेको लिथिम ब्याट्रीबाट आगो लाग्ने खतरा हुने भएकोले यो बिषयमा अझ गम्भीर हुनुपर्ने बताइरहेका छन् ।