काठमाण्डौ । सेमी–अनलाइन कारोबार प्रणालीको सुरुवात र योसँगै पूर्ण स्वचालित कारोबार प्रणाली समयमै आउने खबर लगायतका कारणले बजारमा उछाल आउने संकेत देखिएको छ । 

बजारमा यो दिन बिमा कम्पनीहरु चम्किएका छन् । माइक्रोफाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । 

सेयर बजार परिसूचक(नेप्से) सोमबार दोहोरो अंकले बढेको छ भने सूचकसँगै कारोबार रकममा पनि भारि वृद्धि भएको छ । बजारमा सूचक र कारोबार रकम एकसाथ बढ्दै गयो भने भविष्यमा त्यसले उछाल ल्याउनसक्ने अवस्थातर्फ संकेत गर्ने जानकारहरु बताउँछन् । तर, सोमबार(एकदिन)को बजार वृद्धिले मात्र भविष्यमा उछाल आउने आँकलन गर्न सकिँदैन । इण्डेक्स र टर्नओभरको समानान्तर वृद्धिको प्रवृति केही दिनसम्म बजारमा निरन्तर रहे मात्र यसले बजारमा सकारात्मक अवस्था ल्याउने बताइन्छ। 

यो दिन नेप्से परिसूचक १७.४२ अंकले बढी १२९७.५७ अंकको उचाईमा फर्किएको छ । यो दिन बिमा र माइक्रोफाइनान्स समूहमा उछाल आएको छ । 

बिमा समूह २९३.२४ अंक(४.७ प्रतिशत)ले बढ्यो भने माइक्रोफाइनान्स समूह ७२.११ अंक(४.८४ प्रतिशत)ले बढ्यो । 

यो दिन बैकिङ समूह ४.२८ अंकले बढ्यो भने होटल समूह ५२.१६ अंक, विकास बैंक समूह १६.७५ अंक, जलविद्युत समूह १२.२३, बित्त समूह १४.६७ अंक, उत्पादनमूलक ११.२४ अंकले बढ्यो । यो दिन अन्य समूह भने १.२१ अंकले घट्यो । 

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.२८ अंकले बढ्यो । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्स १.३ अंकले बढ्यो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६७ कम्पनीका ११ लाख ७८ हजार ७ सय ३८ कित्ता सेयर ५७ करोड ६८ लाख ६१ ह्जार ८ सय ६३ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन प्रभू इन्स्योरेन्सले सबैभन्दा बढी २ करोड ८१ लख बढीको कारोबार गर्यो । यस्तै, प्रिमियर इन्स्योरेन्सले २ करोड ३३ लाख, गुराँस लाइफ इन्स्योरेन्सले २ करोड १२ लाख, नेको इन्स्योरेन्सले १ करोड ८५ लाख, नेशनल लाइफ इन्स्योरेन्सले १ करोड ७२ लाख, कुमारी बैंकले १ करोड ६५ लाख, सूर्या लाइफ इन्स्योरेन्सले १ करोड ६२ लाख, एनएलजी इन्स्योरेन्सले १ करोड ३९ लाख, सिद्धार्थ इन्स्योेरेन्सले १ करोड ३५ लाख र नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ३० लाख बढीको कारोबार गरे । 

यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ९ स्थान बिमा कम्पनीले कब्जा गर्यो । अहिलेसम्मको बजारमा बिमा कम्पनीले मात्र धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ९ स्थान कब्जा गरेको यो निकै दुर्लभ घटना पनि हो ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ६  कम्पनीका लगानीकर्ता मालामाल भए । प्रूडेन्सियल इन्स्योरेन्स, ग्लोबल आइएमई लघुवित्त संस्था, नेपाल इन्स्योरेन्स कम्पनी, यूनाइटेड इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले ९.३८ प्रतिशतले सम्पत्ति बढाएका छन् ।

यो दिन नेपाल लाइफका संस्थापक सेयरधनीले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको संस्थापक सेयरको मूल्य १० प्रतिशतले घट्यो ।