काठमाण्डौ । आइतबार बजार खुलेलगत्तैदेखि नेप्से परिसूचक उछालको गतिमा दौडिरहेको छ ।

यो क्रममा पहिलो एकघण्टाको अवधिमा जीवन बिमा समूह बुम भएको छ । एकघण्टा समेत नबित्दै जीवन बिमा उपसमूहको परिसूचक ८ प्रतिशतको हाराहारीमा बढिसकेको छ । जीवन बिमा समूहको सूचक ५०३.३ अंकले बढेको हो ।

जीवन बिमा समूहमा उछाल आउँदा नेपाल लाइफमा पोजिटिभ सर्किट लागेको छ ।

यो कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ४८.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्ने उद्देश्यले आगामी जेठ ४ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनका लागि बैशाख १९ गतेदेखि बुक क्लोजको मिति तोकिएको छ । यसको अर्थ जीवन बिमामध्येकै आकर्षक नेपाल लाइफको ४८.५ प्रतिशत लाभांश पाउन र साधारणसभामा सहभागी हुन बैशाख १८ गतेसम्म सेयर किन्नुपर्नेछ । यही होडले नेपाल लाइफको सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भई पोजिटिभ सर्किट लागेको हो ।

यो  समाचार तयार पार्दासम्म एलआइसी नेपालको सेयर मूल्य समेत ९ प्रतिशतको हाराहारीमा बढिसकेको छ ।

पहिलो एकघण्टामा नेप्से परिसूचक १५ अंकले बढेर १३०७.०६ को विन्दूमा पुगेको छ ।

निर्जीवन बिमा समूह ३.७ प्रतिशतले बढिसकेको छ भने बैंकिंग समूह सामान्य अंकले घटेको छ । बैंकिंग समूहको सूचक घटेर बिमा समूहमा उछालको अवस्था आउनुले लगानीकर्ता बैंकबाट बिमातर्फ सिफ्ट भएका बुझ्न सकिन्छ ।

पहिलो एकघण्टासम्म ३५ करोडको हाराहारीमा सेयरको कारोबार भइसकेको छ ।

नेपाल बैंकले ५ करोड ६४ लाख बढीको कारोबार गरिसकेको छ भने नेपाल लाइफले ४ करोड ४८ लाख बढीको कारोबार गरेको छ ।