काठमाण्डौ । साताको पहिलो दिन आइतबार फेरि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक नयाँ उचाईमा पुगेको छ । 
 

दिनभरमा नेप्से ५.७८ अंकले बढेर १३०६.५४ अंकको नयाँ उचाईंमा पुगेको हो । यसअघि नेप्सेको इतिहासमा परिसूचक यति माथि कहिल्यै पुगेको थिएन । 
 

नेप्सेमा नयाँ उचाई प्राप्त हुँदा ११ कम्पनीको कारोबारमा उछाल आएर सर्किट ब्रेक नै लगाउनुपर्यो । 
 

आइतबार बजार खुल्दा नेप्से १३०० अंकमा थियो र सुरुवातदेखि नै उकालो लाग्ने क्रम देखिएको थियो । आइतबार १० लाख ९ हजार कित्ता शेयर किनबेच हुँदा ७८ करोड २४ लाख रुपैयाँको पूँज परिचालन भयो । सबैभन्दा बढी कमाउने ११ कम्पनीको सूचकमा सर्किट ब्रेक नै लाग्यो । आइतबार बित्त कम्पनी बाहेक सबै समूहको सूचक हरियोमय बन्यो ।

सबैभन्दा बढी बिमा कम्पनीको सूचकमा ११८.८६ अंकको उछाल देखियो । होटलतर्फ २४ अंक उक्लिएको छ ।
 

नेको इन्स्योरेन्सका सात करोड ४१ लाख रुपैयाँ बराबरको साधारण सेयर किनबेच भएको छ । कम्पनीको ६३ हजार ३०७ कित्ता सेयर कारोबार भएको हो । इन्भेष्टमेन्टपछि लाइफ इन्स्योरेन्स कर्पोरेसन, सिद्धार्थ इन्स्योरेन्स, आरएमडिसीको सबैभन्दा बढी कारोबार भयो । 
 

बढ्दो बजारमा नेको इन्स्योरेन्स, हामा मर्चेन्ट, प्रिमियर इन्स्योरेन्स, मिथिला लघुवित्त, सेती फाइनान्स, नेपाल ग्रामिण विकास बैंक, सिछार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र अपि पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पति बढाउन सफल भए । आइतबारको कारोबारमा पोखरा फाइनान्स, अरनिको डेभलपमेन्ट, इन्नोभेटिभ डेभलपमेन्ट लगायतका शेयरधनीले बढी गुमाएका छन् । 
 

आइतबार सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः ०.९१ र ०.४३ अंकले उकालो लाग्यो ।