काठमाण्डौ । पहिलो कारोबार दिन आइतबार २ घन्टामै सेयर बजारमा उछाल आएको छ ।

कारोबार सुरु दुई घन्टामै नेप्से परिसूचकमा २४.४४ अंकको बढोत्तरी आउँदा कारोबार रकमसमेत १ अर्बमाथि उक्लिएको छ । यही गतिमा कारोबार हुँदै गएमा कारोबार रकम २ अर्ब नाघ्ने विश्लेषकहरु बताउँछन् । 

पछिल्लो केही दिनदेखि लगातार सेयर बजारमा नेप्सेमा बढोत्तरीसँगै कारोबार रकमसमेत बढ्दै गएको छ । यसलाई सेयर पण्डितहरु बजार बुलिस ट्रेन्डतिर लम्किरहेको आँकलन गर्छन् ।

आज कारोबारको दुई घन्टामै नेप्से परिसूचक २४.४४ अंकले बढ्दै १३.३४.६७ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.२५ अंकको बढोत्तरीसँगै २८६.१२ को बिन्दुमा पुगेको छ ।

यो समाचार तयार पर्दासम्म जीवन बिमा र निर्जीवन बिमा समूहमा उछाल आएको छ । यो दुवै समूहमा क्रमशः ३५७.४३ अंक र २२५.७७ अंकको बढोत्तरी आएको छ।

दुई घन्टाको अवधिमा धेरै कमाउने १० कम्पनीको सूचीमा ६ वटा बिमा कम्पनीले कब्जा जमाएका छन् । जसमा प्राइम लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स गरी ३ वटा बिमा कम्पनीहरुको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यस्तै सूर्य लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्ज र हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्यमा पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

त्यस्तै उच्च कारोबार गर्ने १० कम्पनीमध्ये ४ वटा कम्पनी बिमा समूहका छन्। जसमा नेपाल लाइफ इन्स्यारेन्सले ५ करोड ४ लाख, प्राइम लाइफ इन्स्योरेन्सले २ करोड ३९ लाख, शिखर इन्स्योरेन्सले २ करोड ३३ लाख र नेसनल लाइफ इन्स्योरेन्सले २ करोड २७ लाख रुपैयाँबराबरको कारोबार गरिसकेका छन् ।