काठमाण्डौ । सेयर बजारका प्राविधिक विश्लेषक बिष्णुप्रसाद बस्यालले बजार बुलिस ट्रेण्डमै घुमिरहेको दाबी गर्दै धेरै नअत्तालिन लगानीकर्तालाई आग्रह गरेका छन् । 

उनले हाल बजारमा वाणिज्य बैंक, विकास बैंक, होटल र उत्पादन तथा प्रशोधन समूहमा आकर्षण देखिएकोले यिनै क्षेत्रमा लगानी केन्द्रीत गर्न समेत सुझाएका छन् । 

उनले इन्स्योरेन्स, माइक्रोफाइनान्स र जलविद्युत क्षेत्रमा उचालिएर लगानी नगर्न समेत सर्वसाधारण लगानीकर्तालाई सचेत गराएका छन् ।

बस्यालले अहिलेको नेप्से परिसूचक धेरै तल आए ११८० को विन्दूसम्म झर्ने प्रक्षेपण समेत सार्वजनिक गरे । ‘अरु ५–७ दिनसम्ममा १२०० देखि ११८० को बीचमा बजार आउनसक्छ ।’ उनले भने–‘यो बटम सर्टटर्म बटम हुनेछ । त्यसपछि बजारले बुलिस ट्रेण्ड समात्नसक्ने संकेत देखिएको छ ।’ 

उनका अनुसार ११८० बाट बजारले बुलिस प्रवृतिको यात्रा तय गर्न सक्यो भने २ महिनाभित्रमा १४०० को विन्दू ब्रेक गर्नेछ । 

तर, यदि ११८० भन्दा पनि तल बजार जान थाल्यो भने चाहि अत्तालिनुपर्ने अवस्था आउनसक्ने उनको दाबी छ । ‘यदि ११८० भन्दा पनि बजार मुनि लाग्यो भने त्यसपछि चाहि रियल नै बजारमा निराशा पैदा हुन्छ । त्यो अवस्थामा डराउनुपर्ने हुन्छ ।’–उनले भने ।

विगततमा जुलाईदेखि अगस्टको अवधिमा बजार टपआउट गरेर तलै खस्ने टे«ण्ड रहेको उल्लेख गर्दै उनले अहिलेको अवस्थालाई पनि त्यही प्रवृतिसँग तुलना गर्दा उत्तम हुने तर्क पेश गरे ।

उनले पछिल्लो समय बजार ३ महिना अपट्रेण्डमा कुदेको र तीनै महिना डाउन ट्रेण्डमा रहे पनि समग्रमा बजारले बुलिस राइज नै समातेको देखिने उनको भनाई छ । 

‘हामीले सरसर्ती बजारलाई हेर्दा तीन महिना अपट्रेण्ड देख्यौं, त्यसपछि ३ महिना नै डाउनट्रेण्ड देखिएको छ । अपट्रेण्डको अवधिमा २५० को र्याली बजारले बनाएको देखिन्छ ।’ उनले भने–‘तर १३५० बाट हिसाब गर्दा डाउन ट्रेण्डमा बजार १५० अंकले मात्र खसेको छ । यसले बजार अपट्रेण्डमै छ भन्ने स्पष्ट संकेत गर्छ । डाउनट्रेण्ड भएको भए यो तीन महिनाभित्र नयाँ तल्लो विन्दू नै स्थापित भइसक्थ्यो । अपसाइड स्पीडमै बजार देखिएको छ ।’

उनले पछिल्लो समय वाणिज्य बैंक, विकास बैंक, होटल र उत्पादन तथा प्रशोधन समूह अन्तर्गतका कम्पनीहरुको प्रदर्शन निकै राम्रो रहेको समेत दाबी गरे । ‘त्यसकारण यी सबै इण्डीकेसनलाई हेर्दा मार्चबाट सुरु भएको बुलिस राइज नै बजारमा छ भन्न सकिन्छ।’ उनले अगाडि भने–‘बैंक, विकास बैंक, होटल र उत्पादन समूहलाई समेटेर पोर्टफोलियो बनाउनेलाई बजारले उभो लगाउने देखिन्छ ।’

उनले लगानीकर्तालाई नअत्तालिन, बरु पोर्टफोलियो बनाउँदा विशेष ध्यान दिन समेत सुझाएका छन् । ‘सक्नुहुन्छ इन्स्योरेन्स, माइक्रोफाइनान्स र जलविद्युत समूहको सेयर अहिले नकिन्नुहोस् ।’ उनले भने–‘किन्नैपर्छ भने पनि आफ्नो पोर्टफोलियोमा सानो हिस्सामा यी तीन समूहका सेयरलाई सीमित गर्नुहोस् ।’