काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बिमा कम्पनीहरुले धितोपत्र बजारमा गर्ने लगानीको सीमा बढाउन सकिने सुझाव दिएका छन् । 

बिमा समितिको ५२ औं वार्षिकोत्सवलाई अनलाइनबाट सम्बोधन गरेका अध्यक्ष ढुंगानाले यस्तो सुझाव दिएका हुन् ।

यो सुझाव कार्यान्वयनका लागि बिमा समिति सकारात्मक हुन जरुरी हुन्छ ।

‘दोश्रो बजारमा ५६ बिमा कम्पनी मात्र सूचिकृत छन्, पुनर्बिमा कम्पनीले भर्खरै आइपीओ जारी गरी दोश्रो बजारमा सूचिकृत हुने प्रक्रिया थालेको छ ।’ ढुंगानाले भने–‘अन्य नयाँ कम्पनीहरु समेत दोश्रो बजारमा आउने क्रम निकट भविष्यबाटै सुरु हुने देखिन्छ । सबै बिमा कम्पनी आएपछि बजारमा बिमा समूहको हिस्सा निकै ठूलो हुनेछ ।’ 

उनले बिमा कम्पनीहरुले पनि म्युचुअल फण्ड संचालन गर्न पाउने गरी निर्देशिका जारी भइसकेको उल्लेख गर्दै सेयरमा गरिने लगानीको सीमा समेत बढाउन सकिने बताए ।  

हाल बिमा कम्पनीहरूले पब्लिक कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म लगानी गर्न पाउने नीतिगत व्यवस्था छ । बिमा समितिले ‘लगानी निर्देशिका २०७५’ मार्फत उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको छ । बोर्ड अध्यक्ष ढुंगानाको संकेतलाई आधार मान्दा यो सीमा आगामी दिनमा बढ्न सक्नेछ ।

समितिले एकवर्षअघि जारी गरेको निर्देशिका अनुसार सेयर लगानी गरिने प्रत्येक सूचीकृत कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी हुने गरी लगानी गर्न भने पाइने छैन । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयरमा २० प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । 

यस्तो लगानी कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा कम हुनुपर्नेछ । साथै, पब्लिक कम्पनीको डिबेन्चरमा भने २० प्रतिशतसम्म लगानी गर्न सकिनेछ । यस्तो लगानी आह्वान गरिएको कुल रकमको १० प्रतिशतभन्दा कम हुनुपर्ने व्यवस्था छ । 

हालको व्यवस्था अनुसार बिमा कम्पनीले वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकमा कुल टेक्निकल रिजर्भको ४० प्रतिशतसम्म रकम मुद्दति निक्षेपमा जम्मा गर्न सक्छन् । तर, लगानी गर्ने बैंक स्थापना भएको ५ बर्ष पूरा भएको हुनुपर्नेछ भने ३ बर्षसम्म नाफामा रहेको हुनुपर्नेछ । एउटा बैंकमा १५ प्रतिशतसम्म लगानी गर्न सकिन्छ । 

विकास बैंकको मुद्दति निक्षेपमा २० प्रतिशत र वित्त कम्पनीको मुद्दति निक्षेपमा १० प्रतिशतसम्म लगानी गर्न पाइनेछ । यस अघिको निर्देशिका अनुसार ३५ प्रतिशत रकम मुद्दति निक्षेपमा जम्मा गर्न पाउने व्यवस्था थियो ।