काठमाण्डौ । बिमा समितिले नयाँ निर्देशिकामार्फत बिमा कम्पनीहरुलाई ०७५ असार मसान्तसम्म चुक्तापूँजी वृद्धि गर्न निर्देशन दिएसँगै बजारमा बिमा कम्पनीहरुको कारोबार बढिरहेको छ । कम्पनीहरुले हकप्रद ल्याउने र कतिपय राम्रो नाफा गर्नेहरुले राम्रो बोनस समेत दिएर पूँजी बढाउने भन्दै लगानीकर्ता बिमा कम्पनीहरुप्रति आकर्षित देखिएका छन् । 

बिमा समितिले नयाँ निर्देशिकामार्फत जीवन बिमा कम्पनीको न्यूनतम चुक्तापूँजी २ अर्ब र निर्जिवन बिमा कम्पनीको १ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार बिमा कम्पनीहरुले धमाधम पूँजी वृद्धिको योजना पेश गर्न थालेका छन् । बिमा कम्पनीमध्ये अधिकांशले हकप्रद र बोनस सेयरमार्फत तोकिएको पूँजीको लक्ष्यलाई भेट्ने योजना पेश गरेका बिमा समितिले जनाएको छ । 

बिमा समितिकी सूचना अधिकारी पूजन ढुंगेल(अधिकारी)का अनुसार केही कम्पनीहरुले अझै पनि पूँजी वृद्धि योजना पेश गरेका छैनन् । 

योजना पेश गरेकामध्ये लाइफ इन्स्योरेन्स कर्पोरेसनले बोनस सेयर वितरण गरेर चुक्तापूँजीको लक्ष्य भेट्याउने बताएको छ । यो कम्पनीको हालको चुक्तापुँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको छ । 

आर्थिक वर्ष २०७२/७३ मा साढे २६ करोड बोनस सेयर दिएको यो कम्पनीले आर्थिक वर्ष २०७३/७४  र ०७४/७५ को खूद नाफाबाट बोनस सेयर दिएर पूँजी २ अर्ब पुर्याउने खाका पेश गरेको छ । 

एशियन लाइफ इन्स्योरेन्सले भने हकप्रद र बोनसको साहारा लिई तोकिएको पूँजी पुर्याउने योजना बिमा समितिमा पेश गरेको छ । हाल यो कम्पनीको चुक्तापूँजी ८० करोड ५६ लाख रुपैयाँ रहेको छ । यो कम्पनीले दुुईपटक गरी १ अर्ब ७० लाख बराबरको हकप्रद सेयर बिक्री गर्ने र बाँकी अपुुग रकम सेयरधनीलाई बोनस वितरण गरेर पुुर्याउने योजना पेश गरेको छ । 

सूूर्या लाइफ इन्स्योरेन्सले २ अर्ब पूँजी पुुर्याउन हकप्रद, बोनस सेयर वितरणसँगै एफपीओ जारी गर्ने प्रस्ताव पनि पेश गरेको छ । हाल यो कम्पनीको चुक्तापूँजी ६२ करोडको हाराहारीमा छ । १ अर्ब १६ करोड भन्दा बढी विभिन्न चरणमा हकप्रद सेयर बिक्री गर्ने, आर्थिक वर्ष ०७२/७३, ०७३/७४ र ७४/७५ को खूद नाफाबाट बोनस समेत वितरण गरेर पूँजीवृद्धि गर्ने यो कम्पनीको योजना छ । हकप्रद र बोनसबाट अपुुग रकम एफपीओ जारी गरेर वा विदेशी लगानी भित्र्याएर पुर्याउने यो कम्पनीको योजना छ । 

हाल पूँजीको आधार निकै कमजोर रहेको गुुराँस लाइफ इन्स्योरेन्सले निकै ठूलो परिमाणमा हकप्रद र केही बोनस समेत बाँडेर २ अर्ब पुँजी पुर्याउने योजना पेश गरेको छ । यो बिमा कम्पनीको हालको चुक्तापूँजी ५५ करोड रुपैयाँ मात्र छ । यसले १ अर्ब ४५ करोड रुपैयाँ पूँजी ०७५ असार मसान्तसम्म थपिसक्नुुपर्छ, जुन निकै चुनौतिपूर्ण देखिन्छ । तर, यो कम्पनीले २ चरणमा गरी १ अर्ब ३५ करोडको हाराहारीमा हकप्रद सेयर जारी गर्ने योजना पेश गरेको छ । बाँकी अपुुग रकम बोनस बाँडेर पुर्याउने कम्पनीको लक्ष्य छ । 

जीवन बिमाको क्षेत्रमा काम गर्ने नेपाल लाइफ इन्स्योरेन्स चाहि अन्य कम्पनी पूँजीवृद्धिको चटारोमा हुँदा ढुक्कले व्यवसाय बिस्तार गरिरहेको छ । कारण, यो कम्पनीको हालको चुक्तापूँजी नै बिमा समितिले तोके भन्दा बढी छ । यो कम्पनीको हालको चुक्तापूँजी २ अर्ब १६ करोड रुपैयाँ रहेको छ। 

यी बाहेक राष्ट्रिय बिमा संस्थान, प्राइम लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र मेट लाइफ एलिको पूँजी वृद्धि योजना बुुझाउने क्रममा छन् । 

निर्जीवन बिमा कम्पनीको अझ धेरै सेयर आउँदै
नेपालमा जीवनभन्दा निर्जीवन कम्पनीको संख्या धेरै छ । निर्जीवन बिमा कम्पनीहरुले ०७५ असार मसान्तभित्र १ अर्ब चुक्तापूँजी पुर्याउनुपर्छ । कतिपय कम्पनीको हालको चुक्तापूँजी निकै थोरै छ, यसकारण यो क्षेत्रबाट समेत निकै ठूलो परिमाणमा हकप्रद तथा बोनस आउँदैछ । 

बिमा समितिका अनुसार हालसम्म ९ वटा निर्जीवन बिमा कम्पनीले पूँजीवृद्धिको योजना पेश गरेका छन् भने सिद्धार्थ इन्स्योेरेन्स, प्रभूू इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, ओरिएन्टल इन्स्योरेन्स, राष्टिय बिमा कम्पनी, हिमालय जनरल इन्स्योरेन्स लगायत पूँजीवृद्धि योजना बुुझाउने क्रममा छन् । 

निर्जीवन बिमा कम्पनीमा आफूलाई टप कम्पनी ठान्ने शिखर इन्स्योरेन्सले बोनस सेयरमार्फत नै तोकिएको चुक्तापूँजी पुर्याउँदैछ । यो कम्पनीको हालको चुक्तापूँजी ५१ करोड रुपैयाँ रहेको छ । 
सगरमाथा इन्स्योरेन्सले बोनस र हकप्रदको बाटो रोज्नेछ । यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट सेयरधनीलाई ३७ करोड ६८ लाख बोनस सेयर वितरण गर्ने र ९ करोड १५ लाख बराबरको हकप्रद बिक्री गर्ने लक्ष्य राखेको छ । 

हाल निकै कम चुक्तापूँजी भएको एभरेष्ट इन्स्योरेन्सले पनि निकै ठूलो परिमाणमा हकप्रद बिक्री गर्नेछ । यो कम्पनीले ७३ करोडको हाराहारीमा हकप्रद बिक्री गर्ने र बाँकी अपुुग रकम विभिन्न आर्थिक वर्षको मुनाफाबाट करिब १७ करोडको हाराहारीमा बोनस सेयर बाँडेर तोकिएको चुक्तापूँजी पुर्याउने योजना छ । 

आर्थिक वर्ष ०७२/७३ मा निकै ठूलो परिमाणमा हकप्रद बिक्री गरेर चुक्तापूँजी वृद्धि गरेको लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष ०७३/७४ को नाफाबाट ११ करोड १२ लाख रुपैयाँ तथा आर्थिक वर्ष ०७४/७५ को नाफाबाट १२ करोड ७० लाख रुपैयाँ बोनस वितरणको प्रस्ताव पेश गरेको छ । 
एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष ०७३/७४ को नाफाबाट १० करोड २५ लाख, ०७४/७५ को नाफाबाट १२ करोड ३ लाख रुपैया बराबरको बोनस सेयर वितरण गर्ने तथा साढे २९ करोडको हाराहारीमा हकप्रद बिक्री गरेर तोकिएको पूँजी पुर्याउने योजना पेश गरेको छ । 

गत वर्ष समेत २७ करोडको हकप्रद बिक्री गरेको एनबी इन्स्योरेन्सले ४३ करोड २० लाख बराबरको बोनस सेयर वितरण गर्ने र ५ करोडको हाराहारीमा पुनः हकप्रद बिक्री गर्ने योजना बिमा समितिमा पेश गरेको छ । 

नेको इन्स्योरेन्सले समेत हकप्रद र बोनस सेयरकै साहारामा तोकिएको चुक्तापूँजीको लक्ष्य प्राप्ति गर्ने योजना पेश गरेको छ । बिमा समितिका अनुसार यो कम्पनीले आर्थिक वर्ष ०७३/७४ को नाफाबाट ७ करोड १३ लाख रुपैयाँ बराबरको बोनस सेयर, त्यसपछि साढे २१ करोडको हाराहारीमा हकप्रद सेयर निश्कासन गर्ने प्रस्ताव गरेको छ । त्यसपछि पुनः यो कम्पनीले साढे २३ करोडको हाराहारीमा हकप्रद बिक्री गरी तोकिएको पूँजी पुर्याउनेछ । 

प्रूडेन्सियल इन्स्योरेन्सले पनि अन्य कम्पनी झै हकप्रद र बोनसकै माध्यमबाट तोकिएको पूँजी पुर्याउने योजना पेश गरेको छ । यो कम्पनीले आर्थिक वर्ष ०७३/७४ को नाफाबाट ८ करोड ५५ लाख बराबरको बोनस सेयर दिने, त्यसपछि २५ करोड ६६ लाख बराबरको हकप्रद सेयर बिक्री गर्ने योजना बनाएको छ । अपुुग रकम फेरि ११ करोडको हाराहारीमा हकप्रद नै बिक्री गरेर पुर्याउने कम्पनीको योजना छ । 

प्रिमियर इन्स्योरेन्सले पनि बोनस र हकप्रदकै बाटो रोजेको छ । यो कम्पनीले पेश गरेको पूँजीवृद्धि योजना अनुसार आर्थिक वर्ष ०७३/७४ को खूद नाफाबाट ६ करोड ७३ लाख बराबरको बोनस वितरण गर्ने, त्यसपछि ६ करोड ६० लाख बराबरको हकप्रद बिक्री गर्नेछ । अपुुग साढे ४३ करोड पूँजी आर्थिक वर्ष २०७४/७५ को नाफाबाट निकै ठूलो परिमाणमा बोनस वितरण गरेर पुर्याइने कम्पनीको योजना छ ।