काठमाण्डौ । दोश्रो बजारमा आकर्षक मूल्यमा खरीदबिक्री भइरहेका दुुई जीवन बिमा कम्पनीले निकै ठूलो परिमाणमा हकप्रद सेयर निश्कासन गर्ने भएका छन् । 

प्राइम लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सले क्रमशः १६० र ६० प्रतिशत हकप्रद निश्कासनका लागि धितोपत्र बोर्डमा कात्तिक २७ गते एकसाथ आवेदन दिएका हुन् । 

बिमा समितिले बिमा कम्पनीहरुलाई समेत चुक्तापूँजी वृद्धिको नीति बनाइदिएपछि समयमा सो निर्देशनको पालना गरी तोकिएको पूँजी पुर्याउन यी दुुई जीवनबिमा कम्पनीले हकप्रदको बाटो रोजेका हुन् । बिमा समितिले जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्तापूँजी २ अर्ब हुनुपर्ने मापदण्ड बनाएपछि बिमा कम्पनीहरुमा समेत बैंकहरुमा झै पूँजी वृद्धिको चटारो देख्न थालिएको हो । 

प्राइम लाइफले १ कित्ता बराबर १.६० कित्ताको दरले हकप्रद निश्कासनको माग गरेको छ । एकसय रुपैयाँ अंकित मूल्यमा निश्कासन हुने हकप्रदपछि यो कम्पनीले ६१ करोड २ लाख पूँजी थप्ने योजना बनाएको छ । अहिले दोश्रो बजारमा प्रतिकित्ता १८४० रुपैयाँमा कारोबार भइरहेको छ। यति राम्रो मूल्य रहेको कम्पनीले यति ठूलो परिमाणमा हकप्रद निश्कासन गर्नु सेयरधनीका लागि समेत खुशीकै कुरा हो । कारण १८४० रुपैयाँ प्रतिकित्ताको सेयर लगानीकर्ताले १०० रुपैयाँमै पाउँछन् । हकप्रदपछि मूल्य नै समायोजन भए पछि १०० रुपैयाँको लगानीले राम्रै रिटर्न दिन्छ । 

प्राइम लाइफको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ ।

उता, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चाहि १० बराबर ६ कित्ताको दरले हकप्रद निश्कासनको माग गर्दै आवेदन दिएको छ । यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ९९ लाख ३६ हजार ४ सय ७८ कित्ता सेयर बिक्री गरी ९९ करोड ३६ लाख बढी पूँजी थप्ने योजना बनाएको छ । यो कम्पनीको सेयर दोश्रो बजारमा प्रतिकित्ता १७०० रुपैयाँ भन्दा बढीमा बिक्री भइरहेको छ । यसर्थ, यो कम्पनीका सेयरधनीका लागि समेत हकप्रदको अफर एउटा सुनौलो अवसर हुने निश्चित छ । 

नेशनल लाइफको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल मार्केट लिमीटेडले गर्नेछ ।