काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ निवासी बिमित स्व. मोतीबहादुर गुरुङ्गको परिवारलाई रु.१,८६,६५,५००(अक्षरेपी एक करोड छयासी लाख पैसठ्ठी हजार पाँच शय) हस्तान्तरण गरेको छ । 

मृत्यु दाबी भुक्तानीलाई बीमितको घरदैलोमा नै उपलब्ध गराई आम मानिसमा जीवन बीमाप्रति सकारात्मक धारणा निर्माण एवं बीमा कम्पनीप्रतिको बिश्वास अभिबृद्धि गर्ने प्रयास स्वरुप गुरुङ्गको परिवारलाई घरमै पुुगेर बिमा रकम हस्तान्तरण गरिएको नेपाल लाइफले जनाएको छ । 

सो मृत्यु दाबी रकम बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले मृतकको ईच्छाएको व्यक्ति एवम् पत्नी ईन्द्रकुमारी शाही गुरुङ्गलाई प्रदान गरेका थिए । 

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको फलस्वरुप कम्पनीमा आवश्यक कागजात प्राप्त भएको १० दिनभित्रै दाबी भुक्तानी गर्न सफल भएको बताए । साथै उनले छिटोछरितो मृत्यूदाबी भूक्तानीका कारण कम्पनीप्रति आम मानिसको बिश्वास बढ्न गई समग्र जीवन बीमा क्षेत्र प्रतिको बिश्वासमा समेत अभिबृद्धि हुने बताए । 

कम्पनीले स्थापनाकालदेखि २०७३ फागुन मसान्तसम्म करिब रु.१ अर्ब ६४ करोड मृत्यूदाबी भूक्तानी गरिसकेको छ । यसैगरी, कम्पनीको बिद्यमान चुक्तापूँजी रु. ३.०९ अर्ब रहेको, जीवन बीमा कोष करिब रु.३७ अर्ब र कुल लगानी करिब रु. ४४ अर्ब रहेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कुल बीमा शुल्क आम्दानी रु.६.८१ अर्ब रहेको छ ।