काठमाण्डौ । नेपाल बैंक लिमीटेडको मात्र ३२ करोडको हाराहारीमा सेयर कारोबार भएसँगै सोमबार बजारमा ६३ करोड ७९ लाख बढीको कारोबार भएको छ । नेपाल बैंककै कारण निकै धेरै दिनपछि कारोबार रकम यति माथि पुगेको हो।

यो दिन नेप्से परिसूचक पनि ०.९ अंकले बढेको छ । बजार यो डिसेम्बरसम्म मात्र घट्ने कतिपय विश्लेषकहरुको विश्लेषणको प्रभाव समेत कतिपय लगानीकर्ताहरुमा देखिएको छ । 

कतिपय बजारका जानकारहरुले बियरिस ट्रेण्ड अब अन्त हुन लागेको देखिएको विश्लेषण गर्दै अहिलेको बजारको अवस्थालाई खरीदारीको सुवर्ण मौका समेत भन्न भ्याएका छन् । 

सेयर  बजारका विश्लेषक दिलिप मुंनकर्मी बजारको बियरिस ट्रेण्ड अब सकिनुपर्ने ठान्छन् ।  ‘तर अहिले बुझ्न नसकिएको लगानीकर्ताको मनोविज्ञान हो । आधारभूत रूपमा कम्पनीहरू सवल र व्यवसाय विस्तार भइरहेको अवस्थामा पनि शेयरलाई तत्काल कुहिने गोलभेडा वा ओइलाएको साग जसरी तुरून्त फाल्न खोजिरहेका छन् ।’ उनले बिजशालासँग भने–‘लगानीकर्ताले अहिले गर्नुपर्ने शेयर खरिद हो, तर बिक्री किन गरिरहेका छन्, अलि अचम्म छ ।’ 

मुंनकर्मीको भनाईमा केही हदसम्म बढेको आपूर्ति, नेप्से निकै तल जाने प्राविधिक विश्लेषण, आदि कारणले मात्र बजार घटेको वा अब अनलाइन व्यवहारिक रूपमा प्रयोगमा आएपछि बेच्न कारोवारीले अहिले अनेक बहाना बनाएर रणनीतिक रूपमा घटाइएको पनि हुनसक्छ ।

सेयर बजारमा कलम चलाउँदै आएका विश्लेषक राजु पौडेलको विचारमा इतिहासलाई केलाउँदा र अध्ययन गर्दा नेपालको सेयर बजारको औसत साइकल ४-५ वर्षको हुने र यो अबधिमा बजार बियरिस र बुलिस भएको देखिन्छ । ‘अब अहिले पनि बजार १८८८.३६ बिन्दुबाट घटेर हिजोको मितिमा ११३०.६३ बिन्दुमा आइपुग्दा करिब ७५७ बिन्दुले घटिसकेको छ । त्यसकारण बजार अहिले बियरिस अवस्थाको अन्तिम बिन्दुतिर पुगेको देखिन्छ ।’ उनले बिजशालासँग भने–‘अझ केही समय बजार बियरिस अवस्थामा रह्यो भने त्यसलाई अनौठो मान्नु हुन्न । तर, अहिले बजार क्र्यास हुन लागेको चाहि होइन । बियरिस प्रवृतिको अन्तिम चरणमा बजार छ ।’

के के भयो सोमबार ?
सोमबार विकास बैंक समूह ४.७ अंकले बढ्यो भने निर्जीवन बिमा समूह ९२.१, जीवन बिमा समूह १३.५७ र अन्य समूह ०.४३ अंकले बढे । 

यो दिन बैंकिंग समूह ०.२७ अंक, व्यापार समूह १.१८ अंक, होटल समूह २.०४ अंकले घटेका छन् । यस्तै, जलविद्युत समूहमा २.१७ अंक, बित्त समूहमा १.८२ अंक, उत्पादनमूलकमा ९.२१ र माइक्रोफाइनान्स ८.३१ अंकले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा नेपाल बैंक लिमीटेडले ३१ करोड ९९ लाख बढीको कारोबार गरेको छ । मुक्तिनाथ विकास बैंकले २ करोड २२ लाख बढीको कारोबार गरेको यो दिन एनएमबी बैंकले १ करोड ४२ लाख, प्रभू बैंकले १ करोड ४१ लाख, कुमारी बैंकले १ करोड १८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ६ लाख, एनआइसी एशियाले ९२ लाख, मेगा बैंकले ८८ लाख, स्ट्याण्डर्ड चार्टर्डले ८६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार विजय लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्यमा ६.६० प्रतिशतले बढ्यो । 

रैराङ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ५.५० प्रतिशतले घट्यो ।