काठमाण्डौ । विश्वको सबैभन्दा धनी व्यक्ति को हो ? तपाई भन्नुहोला–बिल गेट्स । यो उत्तर अब गलत हुनेछ । कारण, बिहीबारदेखि बिल गेट्सको नाममा रहेको विश्वकै धनी व्यक्तिको ताज अर्का अर्बपतिले खोसेका छन् । 

विश्वको सबैभन्दा ठूलो इ–कमर्स कम्पनी रिटेलर अमेजनका फाउण्डर जेफ बिजोस विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । ब्लुमबर्गमा छापिएको एक रिपोर्टअनुसार कम्पनीको सेयरमा आएको उछालका कारण बिजोसले माइक्रोसफ्ट कम्पनीका फाउण्डर बिल गेट्सलाई उछिनेका हुन् । 

बिल गेट्स पछिल्लो ४ वर्षदेखि विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा स्थापित थिए । बिहीबार न्यूूयोर्कको स्टक एक्सचेञ्ज खुल्नासाथ अमेजनको सेयर १.३ प्रतिशतको वृद्धिका साथ १०६५ डलरमा खुलेको थियो, जसबाट बिजोसको कुल सम्पत्ति ९०.९ अर्ब डलर माथि पुुगेको छ । जबकि बिल गेट्सको कुल सम्पत्ति ९०.७ अर्ब डलर मात्र छ । यसका साथै बिजोस विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । 

एक वर्षमा यसरी बढ्यो सम्पत्ति


जेफ बिजोसको सम्पत्ति सन् २०१६ जुलाई २७ मा ६५.३ अर्ब डलर सम्पत्ति रहेकोमा त्यो बढेर सन् २०१७ जुलाई २७(बिहीबार)का दिन ९०.९ अर्ब डलरको उचाईमा पुुगेको छ । उता, बिल गेट्सको सम्पत्ति सन् २०१६ जुलाई २७ मा ८२.३५ अर्ब डलर रहेकोमा २०१७ जुलाई २७ मा ९०.७ अर्ब डलर रहेको छ । 

अब विश्वका सबैभन्दा ५ धनी व्यक्तिको सूचि यस्तो बनेको छः
१.जेफ बिजोस : ९०.९ अर्ब डलर
२.बिल गेट्स : ९०.७ अर्ब डलर
३.अमेन्सियो आर्टिगा : ८२.७ अर्ब डलर
४.वारेन बफेट : ७४.५ अर्ब डलर
५.मार्क जुकरबर्ग : ७०.५ अर्ब डलर

एकवर्षमा २५.६ अर्ब डलरको वृद्धि
बिजोस यस्ता अर्बपति हुन्, जसको सम्पत्ति बितेको एकवर्षको अवधिमा विश्वमा सबैभन्दा धेरैले बढेको छ । वर्षभरिमा उनको सम्पत्ति २५.६ अर्ब डलर बढेको छ । तर, बिल गेट्सको सम्पत्ति भने यो अवधिमा ८.४ अर्ब डलर मात्र वृद्धि भयो ।