काठमाण्डौ । माइक्रोसफ्ट कम्पनीको संस्थापक बिल गेट्सले हालसम्म विश्वकै धनाढ्यको ताज पहिरिरहेका छन् । तर मिडिया रिपोर्टका अनुसार उनको नाममा रहेको यो रेकर्ड चाँडै ब्रेक हुनसक्छ । उनीसँग रहेको विश्वकै धनीको रेकर्ड आफ्नो नाममा पार्न २ अर्बपतिहरुले कडा टक्कर दिइरहेका छन् । ती २ अर्बपतिहरुको सम्पत्ति बिल गेट्सको तुलनामा निकै तीव्र गतिले बृद्धि भइरहेको छ । यी २ अर्बपतिहरुमा अमेजनका सीइओ जेफ बिजोस एक हुन् भने अर्का चाहि स्पेनका विजिनेश टाइकुन अमेन्सियो आर्टिगा हुन् । 

बिल गेट्सको सम्पत्ति
८७.२ अर्ब डलरको व्यक्तिगत सम्पत्तिसहित बिल गेट्स अहिले विश्वकै धनाढ्य कहलिएका छन् । गत एक वर्षको अवधिमा बिल गेट्सको सम्पत्ति मात्र ६ प्रतिशतले वृद्धि भएको छ । तर यही अवधिमा बिजोसको सम्पत्ति २७ प्रतिशतका दरले र आर्टिगाको सम्पत्ति १४ प्रतिशतले बढेको छ ।

यसरी बढ्दैछ बिजोसको सम्पत्ति 
अमेजनका सीइओ जेफ बिजोसको सम्पत्ति केही वर्ष यताबाट तीव्र गतिमा बढिरहेको छ । सन् २०१६ को मे महिनामा उनको कुल सम्पत्ति ६५.४ अर्ब डलर थियो । यो सम्पत्ति सन् २०१७ मे महिनामा आएर ८३ अर्ब डलर पुगिसकेको छ । यसबाट स्पष्ट हुन्छ कि एक वर्ष भन्दा पनि कम समयमा उनको सम्पत्ति १७ अर्ब डलर वृद्धि भइसकेको छ । 

आर्टिगाको यसरी बढ्दैछ सम्पत्ति
स्पेनका अर्बपति अमेन्सियो आर्टिगा अहिले विश्वकै तेश्रो धनी व्यक्ति हुन् । उनी सम्पत्तिको हिसाबले बिजोस भन्दा धेरै पछाडि छैनन् । आर्टिगाको सम्पत्ति ८२.५ अर्ब डलर रहेको छ । गत एक वर्षको अवधिमा उनको सम्पत्तिमा पनि निकै उतसाहप्रद प्रगति भएको छ । ब्लुमबर्गमा छापिएको एक रिपोर्टका अनुसार सन् २०१६ मा उनको कुल सम्पत्ति ७२.२ अर्ब डलर रहेको थियो । सन् २०१७ मा आइपुुग्दा उनको सम्पत्ति बढेर ८२.५ अर्ब डलरको उचाईमा पुगिसकेको छ । 

२ दिनका लागि विश्वकै धनाढ्य भइसकेका छन् आर्टिगा
चाखलाग्दो कुरा यो छ कि सन् २०१६ सेप्टेम्बरमा २ दिनका लागि बिल गेट्सलाई समेत उछिन्दै आर्टिगा विश्वकै धनाढ्य बन्न सफल भएका थिए । तर उनी २ दिनसम्म मात्र टिक्न सके ।