काठमाण्डौ । विश्वका सर्वाधिक धनी तथा माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले यो शताब्दीकै सबैभन्दा ठूलो दान गरेका छन् । उनले आफ्नो कुल सम्पत्तिको ५ प्रतिशत बराबरको माइक्रोसफ्ट कम्पनीको सेयर दानको रुपमा दिएका हुन् । 

अन्तर्राष्ट्रिय मिडियाहरुले जनाए अनुसार बिल गेट्सले गत जुन ६ तारिखका दिन सफ्टवेयर बनाउने माइक्रोसफ्ट कम्पनीको ६ करोड ४० लाख कित्ता सेयर दान गरेका हुन्, जसको मूल्य ४.६ अर्ब अमेरिकी डलर रहेको छ । यो बिषय सोमबार मात्र खुलासा भएको हो जब सेक्युरिटी एण्ड एक्सचेञ्ज कमिसनले यो बिषयमा मुख खोल्यो । 

हालसम्म गेट्सले यो दान कस्लाई दिए भन्ने खुलेको छैन । तर, उनले धेरै भन्दा धेरै दान आफ्नै बिल एण्ड मेलिण्डा फाउण्डेसनलाई गर्दै आएका छन् । यो फाउण्डेसनको स्थापना बिल गेट्स दम्पत्तिको नामबाट गरिएको थियो, यही फाउण्डेसनबाट गेट्स दम्पत्तिले भविष्यमा परोपकारी काम गर्ने योजना बनाएका छन् । 

माइक्रोसफ्टको ६ करोड ४० लाख सेयरको दान सन् २००० पछिको विश्वकै सबैभन्दा ठूलो दान हो । तर, सन् १९९९ मा उनले १६ अर्ब डलर मूल्यको सेयर दान गरेका थिए । त्यसको एकवर्षपछि नै उनले ५.१ अर्ब डलर दानमै दिएका थिए । 

ऐतिहासिक दान
मिडिया रिपोर्टका अनुसार गेट्स फाउण्डेसनको तर्फबाट फाइल ट्याक्स रिटन्र्स, वार्षिक विवरण तथा नियामकहरुको तथ्यांकको समीक्षाबाट यो पत्ता लागेको छ कि बिल एण्ड मेलिण्डा गेट्सले सन् १९९४ देखि हालसम्म सेयर तथा नगदको रुपमा ३५ अर्ब डलरको सम्पत्ति दान गरिसकेका छन् । गेट्सले अर्का अर्बपति वारेन बफेटसँग मिलेर गिविङ प्लेज भन्ने प्लेटफर्मलाई सन् २०१० मा स्थापना गरेका थिए । त्यहीबेलादेखि १६८ धनी व्यक्ति उनीसँग जोडिइसकेका छन्, जसले आफ्नो सम्पत्तिको धेरैभन्दा धेरै हिस्सा दान गर्ने संकल्प लिएका छन् ।

गेट्सले हालसम्म माइक्रोसफ्ट कम्पनीको करिब ७० करोड कित्ता सेयर आफ्नो फाउण्डेसनलाई दान गरिसकेका छन् । यदि यी सबै सेयर आजको मितिमा उनको साथमा हुन्थ्यो भने यसको मूल्य ५० अर्ब डलरको हुन्थयो । जुनमा दिइएको दान समेत कम्पनीमा उनको हिस्साको ३८ प्रतिशत बराबर हो । यसका साथै कम्पनीमा अब उनको हिस्सा घटेर १.३ प्रतिशत रहन पुुगेको छ, जुन १९९६ मा २४ प्रतिशतमा थियो । 

अचम्म लाग्दो कुरा यो छ कि, यति धेरै दान दिएर समेत बिल गेट्स अझै विश्वको सर्वाधिक धनी व्यक्तिको रुपमा टिकिरहेका छन् । ब्लुमबर्गको अर्बपतिहरुको लिस्टमा उनको सम्पत्ति ८६.१ अर्ब डलर आँकलन गरिएको छ ।