काठमाण्डौ । विश्वका दोश्रो धनी बन्न सफल बिल गेट्सले हालै एक अन्तर्राष्ट्रिय मिडियालाई आफ्नो अभिभावकीय टिप्सको बिषयमा बताएका छन् । हालै दिएको एक अन्तर्वार्तामा उनले आफू र आफ्नी पत्नी मिलेर कसरी बालबच्चाको हेरचाह गरिरहेका छन् र यो क्रममा कस्तो  सूत्र प्रयोग गर्छन् भन्ने बिषयमा खुलासा गरेका हुन् । 

बालबच्चाको सजगतापूर्ण हेरचाहकै लागि उनले एउटा सूत्रलाई फलो गर्ने गरेका छन् । उनका अनुसार माया र तर्कको समीश्रणबाट बनेको सूत्रको प्रयोगबाट उनी र उनकी पत्नीलाई एक असल अभिभावक बन्ने सफलता प्राप्त भएको हो । आउनुहोस् हामी पनि जानौं बिल गेट्सको अभिभावकीय सूत्रको बिषयमा:

बिल गेट्स र मेलिण्डा गेट्सका तीन बच्चा छन् । उनीहरुका दुई छोरी र एक छोरा छन् । उनीहरुका ठूली छोरीको नाम जेनिफर गेट्स, छोराको  नाम रोरी जोन गेट्स तथा  कान्छी छोरीको नाम फोबेल एडेल गेट्स हो । जेनिफर अहिले स्टेनफोर्ड विश्वविद्यालयमा अध्ययन गरिरहेकी छिन् । छोरा रोरी जोन गेट्स लेकसाइट स्कूलमा पढिरहेका छन् भने उनीहरुका सानी छोरी समेत स्कूलमै पढिरहेकी छिन् । घरमा उनकी पत्नी मेलिण्डाले  बालबच्चाको हेरचाह गर्ने गर्छिन् । बिल गेट्सले हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरुसँगको अर्को एक अन्तरक्रियामा पनि भनेका छन् कि बच्चाको लालनपालनको ८० प्रतिशत जिम्मेवारी उनकी पत्नीले पूरा गर्दै आएकी छिन् ।

यस्तो सूत्रको प्रयोग
बिल गेट्सले बताएअनुसार उनी र उनकी पत्नी बालबच्चा हुर्काउन १९७० को लभ तथा लजिक प्यारेन्टिक मोडलको प्रयोग गर्ने गर्छन् । यो सूत्र साइकोलोजिस्ट, साइकेटरिक तथा एडमिनिस्ट्रेसनले मिलेर बनाएका हुन् । यो सूत्रमा इमोसनल कन्ट्रोल, इमोशनल रिएक्सनको कन्ट्रोल गर्न(जस्तै चिच्याउने, कराउने जस्ता  गतिविधि नगर्न) सिकाईन्छ । यो सूत्रले बच्चाहरुको इमोसन(भावना) नियन्त्रण गर्न  सहयोग प्राप्त हुन्छ ।

इमोसन हुन्छ नियन्त्रण
यो सूत्रको  प्रयोगबाट बालबच्चाहरुबीच एकअर्कासँग गलत बोल्ने प्रवृतिमाथि नियन्त्रण गर्न मद्धत प्राप्त हुन्छ । यो सूत्रका कारण बालबच्चा एकअर्कासँग गलत भाषाको प्रयोग गर्दैनन् र कहिल्यै पनि एकअर्कासँग चिच्याउँदैनन् वा कराउँदैनन् । उनीहरु आफ्नो इमोसनलाई कसरी नियन्त्रण  गर्ने भन्ने बिषय बेलैदेखि सिक्छन् । गेट्सले भनेका छन्  कि उनले यो तरिकालाई सतप्रतिशत अपनाउने कोशिश गरिरहेका हुन्छन् ।

बच्चासँगै कहिल्यै रिसाउँदैनन्
उनी कहिल्यै पनि आफ्नो रीस बच्चाको अगाडि पोख्दैनन् र बच्चासँग रिसाउँदैनन् पनि । आफ्ना बालबच्चाको खराब  प्रदर्शन, बानी वा खराब रिजल्ट तथा प्रतिफललाई लिएर समेत कहिल्यै उनीहरुलाई कराउँदैनन् । उनी बच्चाहरुलाई माया मात्र दिनुपर्छ र हरेक कुरा  माया गरेरै सिकाउनुपर्छ भन्ने मान्यता राख्छन् । उनको भनाईअनुसार  कैयन सफल मानिसहरुले आफ्नो बाल्यकालमा आफूले पाएको ग्रेडलाई लिएर संघर्ष गरेका थिए । तर, यो भन्दा बढी तपाईको बच्चाको राम्रो व्यक्तित्व बन्न सकोस् भन्ने बिषयमा हामीले विशेष ध्यान दिनुपर्छ । बच्चाहरुमा हरेक काम गर्दा उत्सुकता होस् र हरेक समस्या समाधान निकाल्ने खालको व्यवहारको विकास होस् भन्ने गेट्स चाहन्छन् ।

समस्याको हल निकाल्नेमा फोकस
यो सूत्रमा मातापिता आफ्ना बच्चासँग प्रश्न सोध्छन् र बच्चालाई आफ्नो समस्या समाधानमा फोकस गराउन खोज्छन् । उनले आफ्ना कुनै पनि बच्चालाई १४ वर्षको उमेरसम्म मोवाइल दिएनन् । उनीहरुका  बालबच्चा हरेक पटक आफ्ना मातापिताका साथ क्याथोलिक चर्च  जान्छन् । उनका बच्चाले बिल गेट्सको सम्पत्तिबाट मात्र १ करोड अमेरिकी डलर पाउनेछन् । बिल गेट्सको कुल सम्पत्ति ९१२० करोड अमेरिकी डलर रहेको छ।

बच्चाका लागि धेरै पैसा खर्च गर्दैनन्
बिल गेट्सले आफ्ना बच्चाहरुलाई सबै कुरा गर्ने छुट दिएका छन्, तर एउटा सन्तुलन कायम राख्ने गरी मात्रै । यसको अर्थ उनी आफ्ना  बच्चामा धेरै खर्च गर्दैनन् । किनभने उनी चाहन्छन्  उनका बच्चाले समेत घरबाहिर जाउन् र आफ्नै बलबुताले केही काम गर्न तथा कमाउन सिकून् ।