काठमाण्डौ । निजी कम्पनीहरुमा हप्ताका ७ दिन चौबीसै घन्टा काम गर्ने प्रचलन अहिले विश्वमा तीव्रगतिमा बढिरहेको छ । जसका कारण निजी कम्पनीमा काम गर्नेहरुका लागि ३ सिफ्ट बनाइएको हुन्छ– बिहान, दिउँसो र राति ।

कतिपय निजी कम्पनीहरुमा कर्मचारीले आफ्नो समयअनुकूल मिलाएर सिफ्ट निर्धारण गर्छन् भने कतिपय कम्पनीहरुले कार्यरत कर्मचारीको काम गर्ने सिफ्ट अदलबदल गर्ने गर्छ । अर्थात् कम्पनीहरुले बिहान आउने कर्मचारीलाई दिउँसो वा दिउँसो आउने कर्मचारीलाई राति अथवा राति आउने कर्मचारीलाई बिहानको सिफ्ट फेरबदल गर्छन् ।

यसरी यदि तपाइँ निजी कम्पनीमा काम गर्नुहुन्छ र काम गर्ने सिफ्ट अदलबदल भइरहन्छ भने यसले स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ । यस्ता कर्मचारीहरुमा मोटोपन, डायबिटिजजस्ता रोगको जोखिम हुन्छ नै मानसिक समस्या पनि देखिन सक्छ ।

हालै भएको एउटा अनुसन्धानले यसरी सिफ््ट फेरबदल भइराख्ने कर्मचारीमा डिप्रेसनसँगै विभिन्न मानसिक समस्या बढी देखिएको छ । विशेषगरी राति ९ बजदेखि बिहान ५ बजेसम्मको सिफ्टमा काम गर्ने मानिसमा यस्तो समस्या बढी देखिएको अनुसन्धानले देखाएको छ ।

यो अनुसन्धानमा २८ हजार ४३८ कर्मचारीलाई सहभागी गराइएको थियो । उनीहरु सबै निजी कम्पनीहरुमा काम छन् र काम गर्ने सिफ्ट पनि परिवर्तन भइरहेको हुन्छ । अनुसन्धानले ३३ प्रतिशतभन्दा बढीमा मानसिकलगायत विभिन्न समस्या देखिएको देखाएको छ ।

ब्रिटेनको एउटा युनिभर्सिटीका शोधकर्ताहरुद्वारा गरिएको अनुसन्धानमा यसरी सिफ्ट परिवर्तन भइरहने कर्मचारीहरुमा सुत्ने र उठ्ने बानीमा निकै असर परेको देखिएको छ । विशेषगरी रातको समयमा काम गर्ने कर्मचारीहरुमा डिप्रेसन, मानसिक तनावजस्ता समस्या बढी देखिएको अनुसन्धानले देखाएको छ ।

कामको सिफ्ट परिवर्तन भइरहने हुनाले सुत्ने र उठ्नेको तालमेल नहुँदा मानिसमा चिड्चिडापन बढी देखिने गरेको शोधकर्ताहरु बताउँछन् । यसैगरी आनीबानीमा परिवर्तन आउनुका साथै सामाजिक गतिविधिमा समेत समस्या देखिने गरेको उनीहरुको निष्कर्ष छ । यसले पारिवारिकदेखि साथीभाइसँगको सम्बन्धमा टकराव ल्याइरहेको अनुसन्धानले देखाएको छ ।

शोधकर्ताहरुले यसरी सिफ्ट परिवर्तन भइरहने निजी कम्पनीमा कार्यरत कर्मचारीले यस्ता समस्याबाट मुक्त हुनका लागि नियमित व्यायाम गर्ने, ध्यान गर्ने र परिवार र साथीभाइसँग कम्तीमा साताको एक दिन बसेर रमाइलो गर्नुपर्ने सुझाव दिएका छन् । –एजेन्सी