विराटनगर । उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने बताउनुभएको छ । 

उहाँले आज साँझ विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय पार्टीहरुबीच न्यूनतम सहमति गरी प्रमुख र प्रदेशको अस्थायी केन्द्रबारे निर्णय हुने बताउनुभयो । 

“दलहरुबीच सहमति भन्नु नै भागभण्डा हो, योग्य र राम्रो व्यक्तित्व भएका व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्ति गरिनेछ,” उहाँले भन्नुभयो । 

दलहरुबीच सहमति कायम हुन नसकेमा वर्तमान सरकारले विधिसम्मत रुपमा प्रदेश प्रमुख तोक्ने बताउँदै उहाँले प्रदेश प्रमुखलाई पूर्वग्राही ढङ्गबाट अब बन्ने सरकारले हटाउन नसक्ने बताउनुभयो । उहाँले गत शुक्रबार नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गर्ने मन्त्रीले प्रमुख र अस्थायी केन्द्र तोक्ने निर्णयमा सहमति नगर्ने भनी राजीनामा दिएको हुनाले निर्णय हुन नसकेको प्रष्ट पार्नुभयो । 

उपप्रधानमन्त्री गच्छदारले देश संघीयतामा गइसकेको हुनाले नियमित प्रक्रियाअन्तर्गत तह मिलान गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा केही दरबन्दी सिर्जना गरेको प्रष्ट पार्नुभयो । उहाँले प्रदेशको राजधानी सरकारले होइन प्रदेशसभाको बैठकपश्चात सभाले तोक्ने छ भन्नुभयो ।