काठमाण्डौ । बैंक अफ काठमाण्डूले थप नयाँ संस्थापक सेयर(एफपीओ)को मूल्य तोकेको छ । 

यो बैंकले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा २१० रुपैयाँ प्रिमियम थपी प्रति कित्ता ३१० रुपैयाँका दरले एफपीओ निश्कासन गर्ने भएको हो । 

यो बैंकले कुल ६१ लाख ५८ हजार ६७ कित्ता एफपीओ निश्कासन गर्न लागेको हो । प्रति कित्ता ३१० रुपैयाँमा नयाँ संस्थापक सेयर निश्कासन हुँदा कुल १ अर्ब ९० करोड बराबरको एफपीओ आउने र यसबाट ६१ करोड ५८ लाख रुपैयाँ बैंकको चुक्तापुँजीमा थपिनेछ । प्रिमियमबाट संकलन भएको कुल १ अर्ब २९ करोड बैंकको रिजर्बमा थपिनेछ । 

बैंक अफ काठमाण्डूले एफपीओ निश्कासनका लागि बिक्री प्रबन्धकमा नबील इन्भेष्टमेन्ट बैकिंगलाई चयन गरेको छ । 

लुम्बिनी बैंकलाई गाभेपछि बनेको बैंक अफ काठमाण्डूमा संस्थापक सेयरको हिस्सा घटेर ४५.६४ प्रतिशत कायम भएको थियो । यसैलाई ५१ प्रतिशत पुर्याउन बैंकले नयाँ संस्थापक सेयरको निश्कासन गर्न लागेको हो । 

६१ लाख ५८ हजार एफपीओ निश्कासनपछि बैंकको चुक्तापुँजी ६अर्ब २३ करोडको उचाईमा पुुग्नेछ । 

मंगलबार यो बैंकको संस्थापक सेयरको अन्तिम कारोबार मूल्य प्रति कित्ता ४ सय ५ रुपैयाँ रहेको छ ।