काठमाण्डौ । खोलाको बगर तथा खोल्सा जग्गा धितो राखी बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) बाट साढे २ करोड रुपैयाँभन्दा बढी ऋण प्रवाह भएको बैंकिङ कसुर मुद्दाको अनुसन्धान पूरा गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

यो बैंकिङ कसुरमा पक्राउ परेका बीओकेका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जना र फरार रहेका ५ जनाको नाम पनि सीआईबीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बैंकका कर्मचारीहरुमा तत्कालीन सीआईओ श्रेष्ठसहित तत्कालीन नायब महाप्रबन्धक पुष्पराज भण्डारी, जोखिम व्यवस्थापन अधिकृत ऋचा श्रेष्ठ, सिनियर सम्पर्क अधिकृत विभुविक्रम पन्त, सम्पर्क अधिकृत सुषमा शाह, शाखा प्रबन्धक किरणकुमार बोहोरा र बैंकको मोरङ शाखाका तत्कालीन क्षेत्रीय मेनेजर गणेश लम्साल छन् ।

त्यस्तै पक्राउ परेका अन्यमा मकवानपुर महनरीका कृष्णबहादुर कार्की, चितवन भण्डाराका ऋशेश्वर थपलिया, काठमाण्डौ महाराजगन्जका भुपेन्द्र श्रेष्ठ र काठमाण्डौ बानेश्वरका सुरेन्द्र श्रेष्ठ छन् ।

सीआईबीका अनुसार फरार अभियुक्तहरुमा सुरेन्द्र श्रेष्ठकी पत्नी कल्पना शाही सिंह श्रेष्ठ, मोरङ हरैचा प्रेमप्रसाद पाण्डे, पाँचथर एकतीनका भेषराज खत्री, बझाङ चौधारीकी मीनासिंह बिष्ट र काठमाण्डौ २७ का सुनेना सेलालिक छन् । उनीहरुको खोजी भइरहेको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

पक्राउ परेका सुरेन्द्र श्रेष्ठले बैंकका तत्कालीन सीईओ श्रेष्ठ र अन्य कर्मचारीहरुलाई प्रभावमा पारी झापाको बिरिङ खोला बगरलाई धितो ९नक्कली धितो० राखेर डेढ करोड ऋण लिएका थिए । उनीहरुसँगै नक्कली धितो राखी ऋण लिने कार्यमा बैंकका केही पूर्व तथा बहालवाला कर्मचारीहरु पाइएपछि सोहीअनुसार अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा बुझाइएको एसएसपी पाण्डले जानकारी दिए। पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको पनि उनले बताए ।