काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले हालै गृह मन्त्रालयको कार्यभार सम्हाल्नु भएका गृह सचिव महेश्वर न्यौपानेसँग भेट गरी बधाई तथा कार्यकालको पूर्ण सफलताको कामना गर्दै व्यवसायिक शान्ति सुरक्षाको प्रत्याभुति गृहप्रशासनबाट हुने कुरा सम्पूर्ण निजी क्षेत्र वा व्यवसायीहरुले अपेक्षा राखे । 
माल वस्तुको सहज, सरल र नियमित आपूर्तिको व्यवस्था गर्न वाणिज्य तथा उपभोक्ताहित संरक्षण विभाग रहेको छ । अनुगमनको क्रममा अनाश्यक धरपकड नगर्न समेत अनुरोध गर्दै यसबाट व्यवासायिक वातावरण बिग्रने बताएका छन् । 
साथै नीजि क्षेत्र शहरी ट्राफिक व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको, विपद व्यवस्थापनमा चेम्बरले सहयोग गरी राखेको र अब विपद व्यवस्थापन प्राधिकरण बनिसके पनि वित्तपोषण जोखिम रणनीति बनाउन चेम्बरले गृहमन्त्रालयसँग सहकार्य गरिरहेको बताउँदै चेम्बरको करिब सबै जिल्लामा सञ्जालविस्तार भई कार्य भइरहेकोले गृह अन्र्तगत संघीय ,प्रदेश र स्थानीय स्तरमा चेम्बरको प्रतिनिधि हुने अनुरोध गरे । 
पहिला थुन्ने अनि सुन्नेबाट व्यवसायी त्रसित छन् । त्यसैले अनुसन्धान नगरी थुन्ने कार्यले व्यवसायिको शाखमा गिरावट आउने हुँदा यसमा गम्भीरताका साथ बिचार गर्नु पर्ने बताउँदै अध्यागमनमा हाल भारत जाँदा स्थलमार्ग बाट प्रस्थानमा छाप नलगाउने हुंदा साना मझौला र ठूलो सबै उद्यमी व्यवसायीहरुलाई नकारात्मक असर परी व्यवसायीको लागत बढ्ने, अध्यागमन झन्झटिलो भई उद्योग व्यवसायिक लगानी प्रवद्र्धनमा नकारात्मक असर पर्ने हुँदा सो व्यवस्था व्यवसायीको हकमा तत्काल खारेजी गरिनु पर्ने सुझाव चेम्बरका अध्यक्षले जनाए । 
सो अवसरमा गृह सचिव, महेश्वर न्यौपानले चेम्बर अफ कमर्सका अध्यक्षलगायत प्रतिनिधिमण्डलले राखेका प्रस्तावहरुलाई सरकारको तर्फबाट सकारात्मक सोचका साथ अगाडि बढ्ने कुराको विश्वास दिलाउँदै सरकार र निजी क्षेत्र बीच समन्वयनात्मक भूमिका खेल्ने कुरामा विश्वास दिलाए । यसको साथै सिसिटिभिको प्रयोगले अपराध नियन्त्रण हुने उनले बताए ।