काठमाण्डौ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २८ जना कोरोना संक्रमित निको भएर मंगलबार डिस्चार्ज भएका छन्।

दुई पटकसम्म पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि ती २८ जनालाई डिस्चार्ज दिइएको अस्पतालले जनाएको छ। डिस्चार्ज हुनेमा १८ देखि ५६ वर्षका उमेर समूहका छन्।

भारतबाट फर्किएका उनीहरुलाई दुई साताअघि कोरोना पुष्टि भएपछि प्रतिष्ठानमा ल्याइएको थियो। यी २८ जनासँगै मंगलबारसम्म प्रतिष्ठानबाट डिस्चार्ज हुनेको संख्या ९९ पुगेको छ। 

प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाका अनुसार प्रतिष्ठानको आइसोलेसनमा अझै ५५ जना संक्रमितको उपचार भइरहको छ। उनीहरु सबैको स्वास्थ्य अवस्था समान्य रहेको उनले जानकारी दिए।