काठमाण्डौ । सर्वसाधारण लगानीकर्ताले खरीदमा चासो नदेखाएपछि संस्थागत लगानीकर्ताका लागि बिक्री खुल्ला गरिएको बुटवल पावर कम्पनी(बीपीसी)को एफपीओ सबै कित्ता बिक्री नहुने संकेत देखिएको छ । 

संस्थागत लगानीकर्ताले समेत बुटवल पावरको एफपीओ आशा गरेको अनुपातमा खरीद नगरिदिएपछि यस्तो अवस्था आउने संकेत देखिएको हो । 

बुटवल पावरले एकसय रुपैयाँ अंकित दरको सेयरमा ४०१ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ५०१ रुपैयाँको दरले ४० लाख ८१ हजार कित्ता एफपीओ निश्कासन गरेको थियो । संस्थागत लगानीकर्तालाई समेत खरीदका लागि खुल्ला गरेपछि पनि एफपीओमा उत्साहजनक आवेदन परेको छैन । फागुन ८ गतेसम्म यो कम्पनीको एफपीओमा देशभरबाट ८३ हजार आवेकबाट १ अर्ब ३८ करोडको हाराहारीमा प्रस्ताव परेको छ । 

बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका अनुसार अनुमान गरिए भन्दा निकै कम मात्र संस्थागत आवेदकले प्रस्ताव पेश गरेका छन् । बुटवल पावरको एफपीओ निश्कासनमा सह बिक्रीप्रबन्धकको काम लक्ष्मी क्यापिटलले पनि गर्दै आएको छ । 

समग्रमा हेर्दा संस्थागत लगानीकर्ताले समेत बुटवल पावरले तोकेको मूल्यमा एफपीओ खरीद गर्न अनिच्छा देखाएका छन् । यो कम्पनीको सेयर दोश्रो बजारमा प्रतिकित्ता साढे ५ सयभन्दा पनि कममा पाइराखिएको र मूल्य घटिरहेको अवस्थामा लगानीकर्ता ५०१ रुपैयाँ मूल्य सकारेर एफपीओ भर्न इच्छुक देखिएका छैनन् । किनभने यो मूर्खता गर्नु सरासर डूूब्ने खेलमा फस्नुु हो । 

कम्पनीले संस्थागत लगानीकर्ताका लागि समेत एफपीओमा आवेदन दिने अन्तिम समय फागुन १५ लाई निर्धारण गरेको छ । 


कुनै पनि कम्पनीले सार्बजनिक निश्कासन गर्दा त्यस्तो सेयरको प्रत्याभूति(अन्डरराइट) गराउनु पर्छ । कम्पनीले जारी गरेको सार्बजनिक निस्कासनको ५० प्रतिशतभन्दा बढी सेयर बिक्री भएमा बाँकी रहेको सेयर बिक्री भएन भने अन्डरराइट गर्ने कम्पनीले किन्नुपर्ने शर्त हुन्छ । बुटवल पावरसँग पनि त्यही शर्तमा केही मर्चेन्ट बैंकले सेयरको प्रत्याभूतिको सम्झौता गरेका छन् । यो कम्पनीले निश्कासन गरेको एफपीओमध्ये ५० प्रतिशत भन्दा बढी सर्वसाधारणले नै किन्न आवेदन दिइसकेका छन् । त्यसमा संस्थागत लगानीकर्ताको तर्फबाट समेत केही आवेदन थपिएको छ । यसको अर्थ अब फागुन १५ गतेसम्म पनि यो कम्पनीको एफपीओ सबै बिक्री नभए नबिकेको एफपीओ प्रत्याभूति गर्ने कम्पनीले किन्नुपर्नेछ । 

बुटवल पावर कम्पनीले एफपीओका लागि प्रकाशित गरेको विवरणपत्रमै स्पष्ट रुपमा एनएमबि क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड, एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गबाट सेयर(एफपीओ)को प्रत्याभूति गराएको उल्लेख छ । यसको अर्थ अब जति कित्ता एफपीओ बिक्री हुँदैन, ती सबै कित्ता अण्डराइट गर्ने यी मर्चेन्ट बैंकले मिलेर खरीद गर्नुपर्ने हुन्छ । 

फागुन ८ गतेसम्म १ अर्ब ३८ करोडको हाराहारीमा आवेदन परेको छ । आवेदन पर्ने क्रम निकै सुस्त रहेकोले फागुन १५ गतेसम्म धेरै पर्यो भने पनि १ अर्ब ६० करोडसम्मको आवेदन पर्ने हो भने पनि बाँकी रहेको ४४ करोड रुपैयाँ बराबरको एफपीओ सेयरको प्रत्याभूति दिने मर्चेन्ट बैंकहरुले किन्नुुपर्ने देखिन्छ । १० करोडको हाराहारीमा चुक्तापूँजी भएका माथि उल्लेखित ५ वटा मर्चेन्ट बैंकहरुले एकैपटक ४४ करोडको बुटवल पावरको एफपीओ किन्नुपर्ने अवस्था आए उनीहरु समस्यामा पर्ने देखिन्छ । 

यसरी नियामकलाई रिझाएर र प्रभावमा पारेर बुटवल पावर कम्पनीले एफपीओ निश्कासन गरी लक्षित रकम त कमाउँछ नै, तर उसको एफपीओका कारण ५ मर्चेन्ट बैंकहरुलाई भने ‘इन्तुु न चिन्तु’को अवस्थामा पुर्याइदिनसक्ने देखिन्छ ।