काठमाण्डौ । सर्वसाधारण लगानीकर्ताले खरीदमा चासो नदेखाएपछि संस्थागत लगानीकर्ताका लागि बिक्री खुल्ला गरिएको बुटवल पावर कम्पनी(बीपीसी)को एफपीओ समेत सबै बिक्री हुन सकेन । जसका कारण ५८ करोड बराबरको एफपीओ अण्डराइट गर्नेले उठाउनुपर्ने भएको छ । 

संस्थागत लगानीकर्ताले समेत बुटवल पावरको एफपीओ आशा गरेको अनुपातमा खरीद नगरिदिएपछि यस्तो अवस्था आएको हो । 

बुटवल पावरले एकसय रुपैयाँ अंकित दरको सेयरमा ४०१ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ५०१ रुपैयाँको दरले ४० लाख ८१ हजार कित्ता एफपीओ निश्कासन गरेको थियो । संस्थागत लगानीकर्तालाई समेत खरीदका लागि खुल्ला गरेपछि पनि एफपीओमा उत्साहजनक आवेदन परेनन् । अन्तिम दिनसम्म यो कम्पनीको २९ लाख २० हजार कित्ताका लागि १ अर्ब ४६ करोडको मात्र प्रस्ताव परेको हो । माघ १५ गतेदेखि निश्कासन गरिएको एफपीओ एकमहिनासम्म पनि सबै बिक्री नभएपछि बिक्री बन्द गरिएको यसअघि नै सूचना आइसकेको छ । 

बिक्री प्रबन्धकको काम गरिरहेको एनएमबी क्यापिटलका अनुसार अनुमान गरिए भन्दा निकै कम मात्र संस्थागत आवेदकले प्रस्ताव पेश गरेपछि ५८ करोड अण्डराइट गर्नेले उठाउनुपर्ने अवस्था आएको हो । एफपीओ निश्कासनमा सह बिक्रीप्रबन्धकको काम लक्ष्मी क्यापिटलले गरेको थियो ।

समग्रमा हेर्दा संस्थागत लगानीकर्ताले समेत बुटवल पावरले तोकेको मूल्यमा एफपीओ खरीद गर्न अनिच्छा देखाएका छन् । यो कम्पनीको सेयर दोश्रो बजारमा प्रतिकित्ता साढे ५ सयभन्दा पनि कममा पाइराखिएको र मूल्य घटिरहेको अवस्थामा लगानीकर्ता ५०१ रुपैयाँ मूल्य सकारेर एफपीओ भर्न इच्छुक देखिएनन् । किनभने यो मूर्खता गर्नु सरासर डूूब्ने खेलमा फस्नुु हो । 


कुनै पनि कम्पनीले सार्बजनिक निश्कासन गर्दा त्यस्तो सेयरको प्रत्याभूति(अन्डरराइट) गराउनु पर्छ । कम्पनीले जारी गरेको सार्बजनिक निस्कासनको ५० प्रतिशतभन्दा बढी सेयर बिक्री भएमा बाँकी रहेको सेयर बिक्री भएन भने अन्डरराइट गर्ने कम्पनीले किन्नुपर्ने शर्त हुन्छ । बुटवल पावरसँग पनि त्यही शर्तमा केही मर्चेन्ट बैंकले सेयरको प्रत्याभूतिको सम्झौता गरे । यही सम्झौता अनुसार अब नबिकेको एफपीओ उनीहरुले खरीद गर्नुपर्नेछ । 

बुटवल पावर कम्पनीले एफपीओका लागि प्रकाशित गरेको विवरणपत्रमै स्पष्ट रुपमा एनएमबि क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, ग्लोबल आइएमई क्यापिटल लिमिटेड, एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्गबाट सेयर(एफपीओ)को प्रत्याभूति गराएको उल्लेख छ । विवरणपत्रमै गरिएको प्रतिबद्धता अनुसार अब सबैभन्दा बढी प्रतिशत अण्डरराइटको प्रतिबद्धता गर्ने एनएमबी क्यापिटलले २० करोड बढीको सेयर एक्लैले उठाउनुपर्नेछ । उसले ३४.२३६७१ प्रतिशतको अण्डरराइट प्रतिबद्धता व्यक्त गरेको थियो । १० करोड समेत चुक्तापूँजी नरहेको यो कम्पनीले २० करोड बढीको एफपीओ कसरी किन्छ, चासोको बिषय भएको छ । 

यस्तै, एनआइबी एस क्यापिटलले १७ करोड बढी, लक्ष्मी क्यापिटलले ७ करोडको हाराहारीमा, ग्लोबल आइएमई क्यापिटलले ३ करोड ४३ लाख बढी, ग्लोबल समुुन्नत योजनाले २ करोड २८ लाख बढी, नवील इन्भेष्टमेन्ट बैकिंगले ४ करोड २८ लाख, नवील ब्यालेन्स फण्डले १ करोड ६० लाख र नवील इक्वीटी फण्डले २ करोड ६८ लाख बढीको एफपीओ खरीद गर्नुपर्ने हुन्छ । 

यसरी नियामकलाई रिझाएर र प्रभावमा पारेर बुटवल पावर कम्पनीले एफपीओ निश्कासन गरी लक्षित रकम त कमायो नै, तर उसको एफपीओका कारण अण्डराइट गर्ने कम्पनीहरु तनावमा परे।