काठमाण्डौ। बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ। समितिको बैठकले चैत ११ देखि देशभर बन्दाबन्दी भएर सवारीसाधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय गरेको हो।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बन्दाबन्दीको अवधिभर बीमा शुल्क आगामी वर्षको बीमा नवीकरण छुट दिने निर्णय गरेको जानकारी दिनुभयो। समितिले ‘मोटर बीमा दरसम्बन्धी निर्देशिका–२०७३’ को परिच्छेद–७ को दफा ७ र ९ बमोजिम उक्त निर्णय गरेको हो। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बीमा समितिको निर्णयले यातायात व्यवसायीलाई थोरै भए पनि राहत मिलेको बताउनुभयो। यसअघि यातायात व्यवसायीले बीमा पोलिसीको किस्ता बुझाउन नसकिएको भन्दै समितिमा ज्ञापनपत्र बुझाएका थिए। 

सवारी साधनको कूल वार्षिक बीमा शुल्कको एकतिहाइ रकम थन्किएको अवस्थाको जोखिमको लागि कट्टा गरी बाँकी दुईतिहाइमा समानुपातिक रकम छुट दिन समितिले निर्देशन दिएको छ। समितिले कूल प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष, यात्रु तथा कर्मचारीको बीमालगायत जोखिम समूहको हिसाब गर्नुपर्ने व्यवस्था गरेको छ। 

समितिले सवारी साधनको कूल वार्षिक बीमा शुल्कको एकतिहाइ रकम थन्किएको अवस्थामा जोखिम कट्टा गरी बाँकी दुईतिहाइ रकममा समानुपातिकरूपमा छुट दिन निर्देशन दिएको छ। 

त्यस्तै सवारीसाधन बीमाको नवीकरण गर्दा बीमा शुल्क समायोजन गर्न र बीमितलाई छुट रकमको प्रमाणपत्रसमेत प्रदान गर्न आग्रह गरेको छ।