काठमाण्डौ । मुलुकभर कोरोना संक्रमणको जोखिम बढेसँगै देशका सम्पूर्ण बीमा कम्पनीहरुले पनि आफ्ना ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा राखेर काम गराउन पाउने भएका छन् । 

बिमाको नियामक बीमा समितिले एक परिपत्र जारी गर्दै सबै जीवन र निर्जीवन बिमा कम्पनीहरुलाई ५० प्रतिशतभन्दा बढी कर्मचारीलाई कार्यालयमा नराख्न भनेको हो । 

बीमा कम्पनीका कर्मचारीहरु एकैपटक कार्यालय आवतजावत  गर्दा संक्रमण बढ्नसक्ने सम्भावना रहेको हुँदा सजगता अपनाउन कर्मचारीहरुलाई आलोपालो गरी बढीमा ५० प्रतिशत कर्मचारीबाट कार्य सम्पादन हुने गरी कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिइएको समितिले जनाएको छ । 

समितिले सवारी साधनमा जोरबिजोर प्रणाली अपनाई कार्यालन सञ्चालन गर्न तथा कर्मचारी व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ । 

साउन २६ गतेको मन्त्रिपरिषद्को निर्णयका आधारमा बीमा समितिले बिमकहरुलाई यस्तो निर्देशन जारी गरेको हो । मन्त्रीपरिषद बैठकले सरकारी तथा गैरसरकारी कार्यालयहरुले आधा कर्मचारी मात्रै कार्यालयमा राख्न र बाँकीलाई घरैबाट काम गर्ने वातावरण बनाउनुपर्ने निर्णय गरेको थियो ।