रुपन्देही । बुटवलमा रहेका यातायात व्यवस्था कार्यालय सवारी, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र र यातायात भौतिक पूर्वाधार निर्देशनलाय प्रदेश सरकारले तिलोत्तमामा सार्ने निर्णय गरेपछि स्थानियले बिरोध गरेका छन् ।

प्रदेश नम्बर ५ को मन्त्रीस्तरीय बैठकले बुटवलमा रहेका तीनवटै कार्यालय तिलोत्तमा नगरपालिकाको मणिग्राममा सार्ने निर्णय गरेको हो ।

मन्त्रीस्तरीय बैठकले कार्यालय सार्ने निर्णय गरेसंगै तीनवटै कार्यालयलाई परिपत्र गरिएको थियो ।

प्रदेश सरकारको निर्णय अनुसार कार्यालय सार्नका लागि तयारी गरिएको यातायात व्यवस्था कार्यालय सवारीका निमित्त कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेले जानकारी दिए । 

तर, प्रदेश सरकारको यो निर्णयको स्थानीयले तीव्र विरोध गरेका छन् । 

बुटवलका स्थानीय सर्वसाधारण जनता र बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिहरुले कार्यालय सार्ने निर्णयको बिरोध गरेका हुन् ।

रुपन्देहीबाहेक गुल्मी, अर्घाखांची, कपिलवस्तु, पाल्पा, नवलपरासी लगायतका जिल्लाबाट आउने सेवाग्राहीलाई पायक पर्ने ठाउँबाट कार्यालयहरु सार्नै नहुने स्थानीयको भनाई छ ।

कार्यालयहरु भएको स्थान सबैका लागि पायक पर्ने र शान्ति सुरक्षाका साथै सबै प्रकारले सबैलाई सुविधा भएकाले सार्न नहुने स्थानीयले माग गरेका छन् । जनप्रतिनिधिहरुलाई कुनै पनि जानकारी नगराई कार्यालयहरु सार्न लागिएकाले त्यसको बिरोध गर्नुपरेको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ की कार्यवहाक अध्यक्ष  गोमा ज्ञवालीले बताईन ।

स्थानीय जनप्रतिनिधिहरुलाई जानकारी नगराई कार्यालयहरु सार्ने निर्णय जनताको हित विपरीत भएको उनको भनाई छ । सहज रुपले सञ्चालन भइरहेका कार्यालयहरु बुटवलबाट सार्न नहुने र सार्नै पर्ने भए यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रका लागि बुटवलको बेलवासमा छुट्टाईएको जग्गामा सानुपर्ने स्थानीय टिकाराम घिमिरेले बताईन । सेवाग्राहीको हित विपरीत सार्न प्रयास गरिए  आन्दोलनमा उत्रने जनप्रतिनिधि दलबहादुर थापा र स्थानीय पुनम रजालीले बताए ।

प्रदेश सरकारको मन्त्रीस्तरीय बैठकले कार्यालयहरु सार्ने निर्णय अनुसार आईतबार भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव, इञ्जिनियर र यातायात व्यवस्था कार्यालय सवारीका निमित्ति कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डे सहितको टोलीले स्थान अवलोकन गरेको छ ।

तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित राममणी क्याम्पसको विज्ञान भवनमा कार्यालय सोर्ने निश्चित तयारी भइसकेको यातायात व्यवस्था कार्यालय सवारीका निमित्ति कार्यालय प्रमुख मुक्तिप्रसाद पाण्डेले जानकारी दिए ।