-चन्द्रकान्त खनाल
रुपन्देही । बुटवल उप–महानगरपालिकाले सुरु गरेको धान धितो राखी कृषकहरुलाई ऋण लगानी गर्ने कार्यक्रम प्रभावकारी बनेको छ । 

किसानहरुले यो कार्यक्रमबाट लाभ मिलेको बताउँदै निरन्तरता दिन आग्रह पनि गरेका छन् । 

बाली लगाउँदा लागेको ऋण तिर्न एवं घरायसी खर्चका लागि अति न्यून मूल्यमा खलोबाटै धान बिक्री गर्न बाध्य किसानहरु अहिले नयाँ कार्यक्रम सुरु भएपछि मख्ख भएका छन् । 

आफूले उत्पादन गरेको धान सहकारी संस्थामा धितो राखी सहकारी संस्थाको नियमानुसार ऋण लिने र पछि धानको बजार मूल्य राम्रो भएको बेलामा सहकारी संस्थाले कृषकहरुका सबै धान बिक्री गरी वा कुटानी गरी आफूले पाउनुपर्ने साँवा ब्याज सेवा शुल्क आदि असुल गरेर बाँकी रकम किसानलाई उपलब्ध गराउने गरी यो नयाँ कार्यक्रम सुरु गरिएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए । 

‘सहकारी संस्थामा धानबाली धितो राखी ऋण दिनेबारेको कार्यविधि २०७५’  बमोजिम बुटवल उपमहानगर र वडा नं. १७ मा रहेको सिम्रिक सहकारी संस्थासंग गत वर्ष सम्झौता भएको थियो । यस कार्यक्रमबाट पहिलो चरणमा एकसय ३५ किसानले प्रत्यक्ष फाइदा लिएका छन् । 

सेमलार र मोतिपुरका खेतियोग्य जमिनलाई थप प्लटिङ हुन नदिई र अहिलेका त्यहाँका बस्तीलाई समेत व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा स्थानीय किसानहरुबीच छलफल समेत चलिरहेको उपप्रमुख गुमादेवी आचार्यले बताइन । किसानहरु आपसमा सहमतिमा आएका एक गाउँ एक बस्ती बनाएर बाँकी जग्गामा व्यवसायीक खेती गर्ने सोच उपमहानगरपालिकाको रहेको बताइन ।

त्यहाँका दुवौली, पोखराबारी, मोतिपुर, सौराहा, सौरहीया, विनायकपुर, कृष्णगञ्ज, पत्थरगञ्ज, रानीगञ्ज, नहरपुर, मनोहरापुर, बेलभरिया र मोतिगञ्जलागायत टोलका किसानहरुले न्यूनतम चार क्वीन्टलदेखि तीन सय क्वीन्टलसम्म धान धितो राखेको ऋण लिइरहेको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

पहिलो चरणको कार्यक्रममा पाँच हजार क्वीन्टल धान धितोका रुपमा आएको सहकारीका अध्यक्ष गणेशबहादुर गाहाले जानकारी दिए । किसानहरुले आफ्नै र खेतीयोग्य जमिनसमेत लिजमा लिएर धान खेती गर्दै आएको अध्यक्ष गाहाले बताए । धान उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका धेरै किसानहरुलाई अहिले आर्थिक रुपमा समेत सबल हुने गरि सहयोग मिलेको किसानहरुले बताएका छन् । किसानहरुले धान रोपेको र काटेको खेतालाको ज्यालाका पनि ऋण लिने गरेका छन् । 

पहिले धान उठाउँदा उठाउँदै खलोबाट सस्तोमा बिक्री गर्नुपर्ने बाध्यतामा रहेका पोखराबारीका किसान विष्णु गाहाले ३५ क्वीन्टल धान धितो राखेर ५५ हजार अनुदान लिए । त्यस्तै दुबौलीका शोभाकान्त अर्यालले २५ क्वीन्टल धान धितो राखेर ४० हजार, पोखराबारीकै ओमनारायण थारुले ३० क्वीन्टल धान धितो राखेर ५० हजार तथा दुबौलीका माधव चौधरीले २० क्वीन्टल धानको २५ हजार र दुबौलीका अर्का किसान विष्णु अर्यालले ४० क्वीन्टल धान धितो राखेर २५ हजार ऋण लिएको सहकारीका व्यवस्थापक खिमानन्द पाण्डे ‘राजु’ बताए। 

१२ सय लगानी गरेको ग्रीन हाउसबाट डेढ लाख आम्दानी
बुटवलले ग्रिन हाउसमा तरकारी खेतीका लागि समेत किसानहरुलाई प्रोत्साहन गरिरहेको छ । एकहजारदेखि एकहजार दुईसय रुपैयाँसम्मको लगानीमा सुरु भएका ग्रीन हाउसहरुबाट ३२ हजारदेखि एकलाख पचास हजार रुपैयाँसम्मको आम्दानी भएको छ । 

अनुदान लिएका किसानहरुले आफूहरुले उत्पादन गरेको तरकारी र त्यसलाई बिक्री गरेर भएको आम्दानीको समेत विवरणका आधारमा यत्तिको परिणाममा आम्दानी भएको पाइएको उपपमहानगरका वरिष्ठ उपसचिव तथा कृषि विज्ञ भीमनाथ शर्माले बताए । 

खेतीयोग्य जमिन रहेका क्षेत्रहरुमा जनप्रतिनिधिहरुले प्राविधिकहरु समेत खेतमा लगेर अनुसन्धान गर्दै खेतीको सिफारिस गरिएको बताए । तरकारी खेतीकालागि बुटवल १५ र १६ मा १० वटा ग्रिन हाउस सञ्चालनमा रहेको रहेको छ । चालु आवमा थप १६ वटा ग्रिन हाउस निर्माणका लागि निबेदन आह्वान गरी सूचना प्रकाशन भएको शर्माको भनाइ छ ।  

बिल तिर्न नसकेका किसानका बोर (बोरिङ)लाई अनुदान
उपमहानगरभित्र रहेका २० वटा सिंचाइ बोरहरु मध्ये ४ वटा बोर संचालनमा रहेका छन । डीमान्ड चार्ज तिर्न नसक्दा बन्द भएका र मर्मत गर्न नसकेका यस्ता सिंचाईका बोरहरुलाई मर्मतका लागि उपभोक्ता समितिहरुसंगको लागत साझेदारीमा अनुदान दिइने भएको छ ।

कृषि उपज केन्द्रको डीपीआर बनाउन परामर्शदाता छनौट
बुटवल–१६ कर्साघाटमा राष्ट्रिय स्तरकै कृषि उपज थोक बजार स्थल निर्माण हुने भएको छ । संघीय सरकारको सहकार्यमा बुटवल र सैनामैना नगरपालिकाको संगम स्थलमा निर्माण हुने केन्द्रका लागि डीपीआर बनाउने काम सुरु भएको छ । त्यहाँको ३० विघा क्षेत्रफलमा बन्ने कृषि उपज केन्द्रको डीपीआर बनाउने परामर्शदाता छनोट भइसकेको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

उत्पादनका आधारमा अनुदान
कम्तीमा २ कटठा वा सो भन्दा बढी जग्गामा तरकारी खेती गरेका २१ वटा कृषकलाई फील्ड भेरीफीकेसनको कार्य पश्चात प्रोत्साहन रकम दिने निर्णय भइसकेको छ । 

यस्तै जग्गा भाडामा लिई कृषि ब्यवसाय संचालन गर्ने १३ जना किसानहरुलाइ प्रोत्साहन अनुदान दिने निर्णय भएको कृषि विज्ञ उपसचिव शर्माले जानकारी दिए  । 

माछा पोखरी सुधार अनुदान कार्यक्रम अन्तर्गत बुटवलमा रहेका माछा पोखरीहरुको सुधारकालागि निबेदन परेका १२ वटा किसानहरुलाई जलासय क्षेत्रफलको आधारमा प्रोत्साहन अनुदान रकम दिइने भएको छ । 

मौरी घार दुई सय थान वितरणकोलागि किसान छनौट भइसकेको, तरकारी खेतीका छ वटा र च्याउ खेतीका १० वटा तालिम सम्पन्न भएका छन् । कृषकहरुलाइ काउम्याट, च्याफकटर, चिलिङ्ग भ्याट वितरणसम्मका कामहरु भएका छन् ।