रुपन्देही ।  प्रदेश नंं ५ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बुटवललाई टिप्परमुक्त शहर बनाईने बताएका छन् । 

बजारको मध्यभागबाटै निर्वाध रुपमा संचालन हुने टिप्परका कारण दिनहुं दुर्घटनाको जोखिम बढिरहेको भन्दै उनले पाल्पाका विभिन्न खानी क्षेत्रबाट आउने टिप्परहरुलाई वैकल्पिक सडकको व्यवस्था गरी बजारको सडकलाई सुरक्षित बनाउने तयारी गरिएको बताए । 

सुरक्षित यात्रा अभियान नेपाल, बुटवल उपमहानगरपालिका, नेपाल अटो मोवाईल्स स्पोर्टस् एशोसिएसन लगायतका संघसंस्थाहरुको संयुक्त आयोजनामा आईतवार बुटवलमा आयोजित प्रदेश स्तरिय सडक सुरक्षा सम्मेलनमा बोल्दै मन्त्री चौधरीले सडक सुरक्षाको विषयलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताए । 

मन्त्री चौधरीले पाल्पाका विभिन्न खानीबाट ढुंगा लगायतका वस्तु बोकी दैनिक ५ सयको संख्यामा टिप्परहरु बुटवल हुंदै आवतजावत गर्ने उल्लेख गर्दै अब ती टिप्परहरुलाई पाल्पाको झुम्सादेखि चरङगे हुंदै धागो कारखानामा आउने गरी चल्ने व्यवस्था मिलाईने बताए ।

स्थानीय तहहरुले पनि योजना छनोट गर्दा सडकको सुरक्षालाई ध्यान दिन आग्रह गर्दै उनले अबको पाँच वर्षभित्र दुर्घटनाको संख्यालाई उल्लेख्य रुपमा घटाउने दाबी गरे । 

मन्त्री चौधरीले स्थानीय तहको वेवास्ताले टिप्परसंगै विद्युतिय रिक्सा र टेम्पोका कारण पनि बजार क्षेत्रमा दुर्घटना बढिरहेको भन्दै केही दिनभित्रै विद्युतिय रिक्साको व्यवस्थापनमा कडाईका साथ लाग्ने बताए ।