काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले निकट भविष्यमै ४० लाख ८१ हजार साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको छ । 

यो कम्पनीले माघ पहिलो सातासम्म एफपीओ निश्कासन गर्ने तयारी गरेको हो । 

यसअघि बुटवल पावर कम्पनीले प्रतिकित्ता ५ सय १८ रुपैयाँको दरमा एफपीओ निश्कासनका लागि धितोपत्र बोर्डमा प्रस्ताव गरेको थियो । तर, नयाँ परिस्थिति र नयाँ व्यवस्था अनुसार एफपीओको मूल्य समायोजन गरी प्रतिकित्ता ५०१ रुपैयाँ कायम गरिएको छ । प्रतिकित्ता १०० रुपैयाँमा ४०१ रुपैयाँ प्रिमियम थपेर एफपीओ निश्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । 

दोश्रो बजारमा बुटवल पावर कम्पनीको सेयर प्रतिकित्ता ६५० रुपैयाँमा कारोबार भइरहेको छ । बजार उतारचढावमा दौडिरहेको अवस्थामा यो कम्पनीले एफपीओका लागि तोकेको मूल्य उति धेरै व्यवहारिक भने देखिदैन । 

धितोपत्र बोर्डस्थित स्रोतका अनुसार यो कम्पनीलाई एफपीओ निश्कासनको स्वीकृतिको काम अन्तिम चरणमा पुुगेको छ । आगामी साताभित्र बीपीसीले एफपीओ निश्कासनको अनुमति पाउने र सबै प्रक्रिया पूरा गरी माघ पहिलो साताभित्र कुल २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ भन्दा बढीको एफपीओ निश्कासन गर्नेछ ।

बुटवल पावर कम्पनी लिमीटेडका अनुसार ६६.५ मेगावाट क्षमताको न्यादी र कावेली ए आयोजना निर्माणका लागि आवश्यक थप बजेट जुटाउन एफपीओ निश्कासन गर्न लागिएको हो । बुटवल पावर कम्पनीका फाइनान्सतर्फका भाइस प्रेसिडेन्ट राधेश्याम श्रेष्ठका अनुसार एफपीओपछि प्राप्त प्रिमियम रकममध्ये १ अर्ब ५ करोड न्यादीमा लगानी गरिनेछ भने ७० करोड काबेलीमा । बाँकी रकम बुटवल पावर कम्पनीको ऋण तिर्न प्रयोग गरिने उनले प्रष्ट्याए । 

हाल यो कम्पनीले १२ मेगावाटको झिमरुक जलविद्युत आयोजना, ९ मेगावाटको आँधीखोला र ४ मेगावाट क्षमताको खुदी जलविद्युत आयोजना संचालन गरिरहेको छ । 

यो कम्पनीको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल र लक्ष्मी क्यापिटलले गर्नेछन् । 

बुटवल पावर कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख खूद नाफा आर्जन गरेको थियो । 

एफपीओपछि सर्वसाधारण र कर्मचारीको कम्पनीमा रहेको १३ प्रतिशतको सेयर स्वामित्व बढेर ३० प्रतिशतसम्म पुुग्ने अपेक्षा गरिएको छ । यो कम्पनीमा सरकारको १० प्रतिशत लगानी छ ।