काठमाण्डौ । धितोपत्र बोर्डले बुटवल पावर कम्पनी लिमीटेड र प्रिमियर इन्स्योरेन्स कम्पनीलाई साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) स्वीकृत गरेको छ । 

दुवै कम्पनीलाई एफपीओ निश्कासनका लागि सोमबार बोर्डले अनुमति प्रदान गरेको हो । 

दुवै कम्पनीको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेड रहेको छ। 

बुटवल पावर कम्पनी लिमीटेडले प्रति कित्ता १०० रुपैयाँमा ४०१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ५०१ रुपैयाँमा २ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ८१ ह्जार कित्ता एफपीओ निश्कासनको अनुमति पाएको छ । यसअघि यो जलविद्युत आयोजनाले बोर्डमा प्रिमियमसहित प्रतिकित्ता ५१८ रुपैयाँको दरले एफपीओ निश्कासनको माग गर्दै निवेदन पेश गरेको थियो । तर धितोपत्र बोर्डले एफपीओ निश्कासनको कार्यविधिमा हेरफेर गरेपछि बुटवल पावरले पुनः नयाँ प्रावधान अनुसारको नयाँ मूल्य प्रस्ताव गरेको थियो । 

बुटवल पावर कम्पनीले एफपीओबाट संकलित रकमलाई ३७.६ मेगावाट क्षमताको काबेली-ए जलविद्युत आयोजना र ३० मेगावाटको ङादी जलविद्युत आयोजना निर्माणमा खर्च गर्ने लक्ष्य लिएको छ । बुटवल पावर कम्पनीको काबेली इनर्जी लिमीटेडमा ५४ प्रतिशत र ङादी जलविद्युत आयोजनामा ९७ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

बुटवल पावर कम्पनी लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख खूद नाफा आर्जन गरेको छ । एफपीओपछि यो कम्पनीको चुक्तापूँजी बढेर २ अर्ब २१ करोड पुुग्नेछ भने जगेडाकोषको आकार बढी १ अर्ब ७० करोड रुपैयाँको उचाई प्राप्त गर्नेछ । यो कम्पनीको दोश्रो बजारमा सोमबारको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ७२५ रुपैयाँ रहेको छ । 

यसैगरी, लामो समयदेखि अड्किएको प्रिमियर इन्स्योरेन्सको एफपीओको गाँठो समेत धितोपत्र बोर्डले सोमबार नै खोलिदिएको छ । यो कम्पनीलाई बोर्डले १०० रुपैयाँ अंकित मूल्यमा ६९९ प्रिमियम थपी प्रतिकित्ता ७९९ रुपैयाँमा ५२ करोड ६९ लाख मूल्यको कुल ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ निश्कासनको अनुमति दिएको हो । 

यो कम्पनीले पनि सुरुमा प्रतिकित्ता ८९५ रुपैयाँ मूल्य प्रस्ताव गरेको थियो । तर, एफपीओ निश्कासनको नयाँ प्रावधानका कारण मूल्य संसोधन गरी प्रतिकित्ता ७९९ मा झारिएको थियो । 

अघिल्लो वर्ष यो बिमा कम्पनीको २३ औं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयरको पूँजीकरणपछि एफपीओ निश्कासनको प्रस्ताव पारित गरेको थियो । २० प्रतिशत बोनस सेयरपछि यो कम्पनीको चुक्तापूँजी ४४ करोड ८५ लाख पुुगेको छ । एफपीओपछि चुक्तापूँजी बढेर ५१ करोड ४४ लाखको उचाईमा पुुग्नेछ । 

हाल यो बिमा कम्पनीमा संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व संरचना ६०ः४० प्रतिशत रहेको छ । एफपीओपछि यो संरचना ५१ः४९ प्रतिशतमा रुपान्तरण हुनेछ ।