काठमाण्डौ । बुटवल पावर कम्पनीको एफपीओमा ४ दिनको अवधिमा ९३ करोड बराबरको आवेदन परेको छ । 

देशभरका करिब ६९ हजार लगानीकर्ताले एफपीओ खरीदका लागि आवेदन दिएका बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमीटेडले जनाएको छ ।

बुटवल पावरको एफपीओमा चौथो दिन शुक्रबार सबैभन्दा बढी २७ हजार आवेदकबाट साढे ३८ करोडको हाराहारीमा प्रस्ताव परेको हो । त्यसअघि पहिलो दिन ११ करोड ७० लाख, दोश्रो दिन २ करोड बढी र तेश्रो दिन साढे २ करोडको हाराहारीमा आवेदन परेको थियो ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलस्थित स्रोतका अनुसार ४० लाख ८१ हजार कित्ता एफपीओमा चौथो दिनसम्म मुश्किलले ५० प्रतिशतको हाराहारीमा मात्र आवेदन परेको छ । एफपीओमा न्यून आवेदन परेकै कारण बिक्री प्रबन्धकले सबै कित्ता सेयर बिक्रीको प्रयासका लागि आगामी फागुन १५ गतेसम्म आवेदन दिने समय थप गरेको छ । यो मिति भनेको कम्पनीको एफपीओमा आवेदन दिने अधिकतम मिति समेत हो ।

बुटवल पावर कम्पनीको दोश्रो बजार मूल्य पछिल्लो समय घटिरहेकोले समेत धेरै लगानीकर्ताले एफपीओ नभरेका देखिएको छ । कम्पनीको एफपीओको बिषयमा बजार तताएको बिषयमा कम्पनीले प्रष्ट पार्न नसक्दा समेत एफपीओमा कम आकर्षण देखिएको छ । कम्पनीको सेयरमा गिरावट जारी रहेकोले फागुन १५ गतेसम्म पनि यो कम्पनीको सबै कित्ता सेयर बिक्री भएन भने आश्चर्य नमान्दा हुन्छ । 

आइतबार मात्र बुटवल पावर कम्पनीको सेयर मूल्य ५.०७ प्रतिशतले घट्न पुग्यो । 

बुटवल पावर कम्पनी लिमीटेडले माघ १५ गते(आजदेखि) ४० लाख ८१ हजार कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गरेको हो ।

यो कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ४०१ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ५०१ रुपैयाँको दरले कुल २ अर्ब ४ करोड रुपैयाँ बराबरको एफपीओ निश्कासन  गरेको हो । 

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार ४ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था र तिनका  शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।
एफपीओ बिक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २१ करोड र रिजर्ब बढेर १ अर्ब ५० करोडको उचाईमा पुग्नेछ । 

बुटवल पावर कम्पनी लिमीटेडले एफपीओबाट संकलित रकम ३७.६ मेगावाटको काबेली ए हाइड्रोपावर प्रोजेक्ट तथा ३० मेगावाटका ङादी  हाइड्रोपावर प्रोजेक्ट निर्माणमा खर्च गर्ने योजना बनाएको छ । बुटवल पावर कम्पनीको काबेलीमा ५४ प्रतिशत र ङादीमा ९७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।