काठमाण्डौ । छैठौ दिनसम्ममा पनि बुटवल पावर कम्पनी लिमीटेडले निश्कासन गरेको आइपीओमा मागेजति आवेदन परेको छैन । पछिल्लो समय हरेक दिन यो कम्पनीको एफपीओमा आवेदन दिनेको संख्या झन् झन् घटिरहेको छ । 

छैठौ दिनसम्म साढे २३ लाख कित्ता सेयर खरीदका लागि आवेदन परेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । यसको अर्थ करिब १७ लाख ३१ हजार कित्ता अझै बिक्री भएको छैन । कम्पनीले यति धेरै कित्ता बिक्री गर्नुपर्नेछ, जुन निकै चुनौतिपूर्ण देखिन्छ । 

बजार निरन्तर घटेर बुटवल पावर कम्पनीको मूल्यमा समेत दवाब परिरहेको बेला यो कम्पनीमा आगामी दिनमा अझ न्यून आवेदन पर्ने निश्चित झै छ । 

छैठो दिन सोमबार यो कम्पनीको एफपीओमा ४ हजारले मात्र आवेदन दिए । पाँचौ दिन ६ हजार जनाले आवेदन दिएका थिए । 

चौथो दिनसम्म यो कम्पनीको एफपीओमा २७ हजार आवेदकले साढे ३८ करोडको हाराहारीमा एफपीओ खरीदका लागि आवेदन दिएका थिए । 

हालसम्म देशका करिब ७९ हजार जनाले सेयर खरीदका लागि आवेदन पेश गरेका छन् ।

बिक्री प्रबन्धक एनएमबी क्यापिटलस्थित स्रोतका अनुसार ४० लाख ८१ हजार कित्ता एफपीओमा अझै निकै धेरै आवेदन पर्नुपर्ने देखिए पनि रफ्तार भने निकै कम भएको देखिएको छ ।

एफपीओमा न्यून आवेदन परेकै कारण बिक्री प्रबन्धकले सबै कित्ता सेयर बिक्रीको प्रयासका लागि आगामी फागुन १५ गतेसम्म आवेदन दिने समय थप गरेको छ । यो मिति भनेको कम्पनीको एफपीओमा आवेदन दिने अधिकतम मिति समेत हो ।

बुटवल पावर कम्पनीको दोश्रो बजार मूल्य पछिल्लो समय घटिरहेकोले समेत धेरै लगानीकर्ताले एफपीओ नभरेका देखिएको छ । कम्पनीको एफपीओको बिषयमा बजार तताएको बिषयमा कम्पनीले प्रष्ट पार्न नसक्दा समेत एफपीओमा कम आकर्षण देखिएको छ । कम्पनीको सेयरमा गिरावट जारी रहेकोले फागुन १५ गतेसम्म पनि यो कम्पनीको सबै कित्ता सेयर बिक्री भएन भने आश्चर्य नमान्दा हुन्छ । 

बुटवल पावर कम्पनी लिमीटेडले माघ १५ गते(आजदेखि) ४० लाख ८१ हजार कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गरेको हो ।

यो कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ४०१ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ५०१ रुपैयाँको दरले कुल २ अर्ब ४ करोड रुपैयाँ बराबरको एफपीओ निश्कासन  गरेको हो । 

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार ४ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था र तिनका शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

एफपीओ बिक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २१ करोड र रिजर्ब बढेर १ अर्ब ५० करोडको उचाईमा पुग्नेछ । 

बुटवल पावर कम्पनी लिमीटेडले एफपीओबाट संकलित रकम ३७.६ मेगावाटको काबेली ए हाइड्रोपावर प्रोजेक्ट तथा ३० मेगावाटका ङादी  हाइड्रोपावर प्रोजेक्ट निर्माणमा खर्च गर्ने योजना बनाएको छ । बुटवल पावर कम्पनीको काबेलीमा ५४ प्रतिशत र ङादीमा ९७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।