काठमाण्डौ । बुटवल पावर कम्पनीको एफपीओमा शुक्रबारदेखि संस्थागत लगानीकर्ताले पनि खरीदका लागि आवेदन दिन पाउने भएका छन् । 

एनएमबी क्यापिटलका प्रमुख संचालन अधिकृत कमल नेपालका अनुसार बुटवल पावरको एफपीओमा लामो समयसम्म पनि सर्वसाधारण लगानीकर्ताबाट पर्याप्त आवेदन नपरेपछि संस्थागत लगानीकर्ताले समेत आवेदन दिन पाउने व्यवस्था गरिएको हो । 

बुटवल पावर कम्पनी लिमीटेडले निश्कासन गरेको एफपीओमा हालसम्म ६२ प्रतिशतको हाराहारीमा आवेदन परेको छ । लामो समयसम्म पनि सर्वसाधारणबाट उत्साहप्रद आवेदन नपरेपछि एफपीओ बिक्रीका लागि संस्थागत लगानीकर्तालाई समेत बाटो खोलिएको हो । 

धितोपत्र बोर्डले जारी गरेको सार्वजनिक निश्कासन सम्बन्धी निर्देशिकामा कुनै पनि कम्पनीको आइपीओ वा एफपीओ व्यक्तिगत लगानीकर्ताले नकिनेमा संस्थागत लगानीकर्ता बिक्री गर्न पाइने व्यवस्था रहेको । यही व्यवस्था बुटवल पावर कम्पनीको एफपीओमा समेत शुक्रबारदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । 

माघ १५ गतेदेखि बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता एफपीओ प्रिमियम मूल्यसहित ५०१ रुपैयाँको दरले निष्कासन गरेकोमा बुधबारसम्म १ अर्ब २० करोड १६ लाख रुपैयाँको मात्र आवेदन परेको छ ।

हालसम्म एफपीओका लागि ८२ हजार ११ वटा आवेदन परेका छन् । अझै ८४ करोड रुपैयाँको एफपीओ बिक्री हुन बाँकी छ । २३ लाख ९८ हजार ४०३ कित्ता एफपीओ खरिदका लागि आवेदन परेको छ ।