काठमाण्डौ । धितोपत्र बोर्डले नयाँ निर्देशिका जारी गरेपछि त्यहाँ भएको व्यवस्था अनुसार बुटवल पावर कम्पनी लिमीटेडले एफपीओको मूल्य बढाएको छ । 

यो कम्पनीले यसअघि प्रति कित्ता प्रिमियम मूल्य समेत जोडी प्रति कित्त ४ सय ७० रुपैयाँको दरले कुल ४० लाख ८१ हजार कित्ता एफपीओ निश्कासनको प्रस्ताव गरेको थियो । 

तर बोर्डको नयाँ निर्देशन अनुसार प्रति कित्ता एफपीओको मूल्य बढाएर ५ सय १८ रुपैयाँ कायम गरिएको कम्पनीले स्पष्ट पारेको छ । 

यसअघि प्रिमियर इन्स्योरेन्सले चाहि एफपीओको मूल्य घटाउने निर्णय गरेको थियो । 

बुटवल पावर कम्पनी लिमीटेडको सोमबार सम्पन्न ३३१ औं बोर्ड बैठकले पहिलाको मूल्य बढाउने निर्णय गरेको नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित सूचनामा उल्लेख छ । 

यो कम्पनीको एफपीओ निश्कासनका लागि एनएमबी क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट लिमीटेड बिक्री प्रबन्धक छन् । 

बुटवल पावर कम्पनीले एफपीओबाट संकिलत रकम ३७.६ मेगावाटको काबेली ए हाइड्रोपावर  आयोजना र ३० मेगावाटको न्याग्दी हाइड्रोपावर आयोजना निर्माणमा लगाउने योजना बनाएको छ । बुटवल पावर कम्पनीको काबेली इनर्जी लिमीटेडमा ५४ प्रतिशत र न्याग्दी हाइड्रोपावर प्रोजेक्टमा ९७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।