काठमाण्डौ । मतगणना जारी रहेका ७ उपमहानगरपालिकामध्ये ५ वटामा एमालेले अग्रता लिइरहेको छ । सुरुवातदेखि नै अग्रता कायम गरिरहेको बुटवलको मेयर र उपमेयर पदमा कडा प्रतिस्पर्धा देखिए पनि हालसम्म त्यहाँ मतगणना भएका वडाहरुमा एमाले क्लीन स्वीप गर्दै अगाडि बढिरहेको छ । 

वडानम्बर १ देखि ८ सम्म मतगणना सम्पन्न भइसक्दा समेत नेपाली कांग्रेस र माओवादी केन्द्रले खाता खोल्न सकेका छैनन् । बुटवलमा एमालेलाई हराउने उद्देश्यसहित कांग्रेस र माओवादी केन्द्रले गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिए पनि त्यसलाई एमालेले फिक्का बनाइदिएको छ । 

यो समाचार तयार पार्दासम्म बुटवल उपमहानगरपालिकाको २५ हजारको हाराहारीमा मतगणना भइसकेको छ । यो क्रममा ८ वटा वडामा वडाध्यक्षसहित सबै सदस्य पदमा समेत एमालेले एकलौटी जित हासिल गरेको छ । 

पछिल्लो मत अपडेट अनुसार बुटवलमा एमालेले मेयरतर्फ ९९६९ र उपमेयरतर्फ १०४५३ मत प्राप्त गरेको छ । कांग्रेसले मेयरतर्फ ९२५६ र उपमेयरमा माओवादी केन्द्रले ८७८६ मत ल्याएको छ ।