काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले आज(सोमबार)देखि ४० लाख ८१ हजार कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरको सेयरमा ४०१ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ५ सय १ रुपैयाँको दरले एफपीओ बिक्री खुलाएको हो । 

एफपीओका लागि इच्छुकले आस्वा सदस्य बैंक तथा बित्तीय संस्था र तिनका शाखामा गएर आवेदन दिन सक्नेछन् । आस्वा सदस्य बैंकको शाखा प्राय सबै जिल्लामा रहेका कारण देशभरका लगानीकर्ताले बुटवल पावर कम्पनीको एफपीओमा आवेदन दिन सक्नेछन् ।

बुटवल पावर कम्पनी लिमीटेडको एफपीओ आएसँगै धेरै लगानीकर्तामा यसमा लगानी गर्ने कि नगर्ने भन्ने द्विविधा समेत देखिएको छ । कतिपय नयाँ लगानीकर्ता समेत यो कम्पनीको एफपीओमा लगानी गर्न इच्छुक देखिएका छन्, तर सूचनाको अभावमा उनीहरु बिलखबन्दमा छन् । उसो भए बुटवल पावर कम्पनीको एफपीओमा लगानी गर्नु कत्तिको सही होला ? यसमा गरेको लगानी सुरक्षित हुन्छ कि हुँदैन ?

देशको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको सबै बित्तीय सूचकहरुको अध्ययनपछि एफपीओलाई ‘आइपीओ ग्रेड ३’ को रेटिङ प्रदान गरेको छ । जलविद्युत कम्पनीलाई ग्रेड ३ को रेटिङ दिइनु नै यो कम्पनीका आधारभूत पक्षहरु औसत र सन्तोषजनक नै छन् भन्ने हो । 

इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ प्रदान गर्दछ, जसमा ग्रेड १ ले कम्पनीको आधारभूत अवस्था बलियो भएको जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग हुने प्लस चिन्हले चाहि त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँछ । इक्रा रेटिङको दाबीलाई आधार मान्ने हो भने बुटवल पावर कम्पनीको एफपीओमा लगानी गर्दा जोखिम व्यहोर्नुपर्ने समस्या केही कम छ ।

बुटवल पावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ६२८ रुपैयाँ रहेको छ । घट्दो क्रममा रहेको कम्पनीको मूल्य एकाएक बढेर चमात्कार हुने अवस्था देखिदैन । यसरी यो कोणबाट हेर्दा घटेर ६२८ रुपैयाँमा झरिसकेको र घट्दो क्रम जारी रहेकोले केही सजगतापूर्वक लगानीको निर्णय लिनु बुद्धिमता हुने देखिन्छ । एफपीओ पारेर केही समयपछि बेचिहाल्ने भन्दा पनि लामो समयसम्म राख्ने योजनाका साथ आवेदन दिनु उचित हुने देखिन्छ । 

बुटवल पावर कम्पनी लिमीटेडले एफपीओबाट संकलित रकम ३७.६ मेगावाटको काबेली ए हाइड्रोपावर प्रोजेक्ट तथा ३० मेगावाटका ङादी  हाइड्रोपावर प्रोजेक्ट निर्माणमा खर्च गर्ने योजना बनाएको छ । बुटवल पावर कम्पनीको काबेलीमा ५४ प्रतिशत र ङादीमा ९७ प्रतिशत सेयर स्वामित्व रहेको छ । 

लामो अनुभव
यो कम्पनी नेपालको जलविद्युत क्षेत्रको बलियो र ५१ वर्षे पुरानो कम्पनी हो । यसले कैयन जलविद्युत आयोजना समेत निर्माण सम्पन्न गरी संचालन गरिसकेको छ । जलविद्युतको विकास, निर्माण र संचालनमा लामो अनुभव भएको यो कम्पनीले ४ मेगावाटको खुदी, १०० मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी, ९.४ मेगावाटको आँधीखोला लगायतका जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

यो अवधिमा कम्पनीले सानाठूला गरी एकदर्जनको हाराहारीमा जलविद्युत आयोजनाको निर्माण तथा संचालनको अनुभव हासिल गरिसकेको छ । लामो अनुभवका आधारमा यो कम्पनीले लगानीकर्ताको लगानीलाई राम्रो प्रतिफल आउने गरी खर्र्च गर्छ भन्ने विश्वास समेत गर्न सकिन्छ । तर, लगानीका लागि यो मात्रै बलियो आधार चाहि होइन । संस्थागत सुशासन, बित्तीय स्वस्थता, विगतमा लगानीकर्तालाई दिएको रिटर्न लगायतको बिषयले समेत लगानीको सुरक्षा हुन्छ या हुँदैन भन्ने कुरा निर्धारित हुन्छ । 

पछिल्लो समय यो कम्पनीले चीनका ३ कम्पनीहरुसँग सहकार्यको सम्झौता गरेको छ । पछिल्लो सम्झौता अनुसार बुटवल पावर कम्पनीको २० प्रतिशत सेयर स्वामित्व हुँदा सिचुवान इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमीटेडको ५१ प्रतिशत, छेंग्दु छिङचेङ इन्भेष्टमेन्ट ग्रुपको १७ प्रतिशत र क्वीङवान इञ्जिनियरिङ कन्सल्ट्यान्ट कम्पनी लिमीटेडको स्वामित्व रहने छ । तीनवटा चाइनिज कम्पनी र बुटवल पावरको सहभागितामा इन्टरनेशनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि नामको संस्था दर्ता गरिएको छ । यो कम्पनीमार्फत १ हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी विभिन्न जलविद्युत योजनामा १ अर्ब ९० करोड रुपैयाँ लगानी गर्ने लक्ष्य राखिएको छ ।

यसरी तीनवटा चाइनिज कम्पनीसँग सम्झौता गरी विदेशी लगानी भित्र्याई त्यसलाई बिजुली उत्पादनमा लगाउने बुटवल पावर कम्पनीप्रति पछिल्लो दिनमा लगानीकर्ताको विश्वास केही बढेको देखिन्छ । चाइनिज कम्पनीसँग लगानीको सम्झौतासँगै यो कम्पनीको सेयरमूल्यमा केही दिनसम्म देखिएको वृद्धिले समेत यही कुरा  पुष्टि गर्छ । विदेशी लगानीकर्तासँगको सहकार्यमा राम्रो काम गर्न सके बुटवल पावर कम्पनीको मूल्य आगामी दिनमा समेत अझ बढ्नसक्छ । विदेशी साझेदारहरुसँगको सहकार्य र यसलाई ल्याउने सकारात्मक तरंगको यो कोणबाट हेर्दा बीपीसिएलको एफपीओमा लगानी गर्नेले पछुताउनुपर्ने छैन । 

निरन्तर बढ्दो नाफा र आम्दानी
तीन चाइनिज कम्पनीसँग संयुक्त लगानीको सम्झौता नगर्दै बुटवल पावर कम्पनी लिमीटेडले नाफालाई बढाइरहेको देखिन्छ । जस्तो, गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड १५ लाख रुपैयाँ रहेको खूद नाफा बढाएर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड २२ लाख कमाएको छ । बिजुली बेचेर गत वर्षको पहिलो त्रैमासमा १५ करोड ७१ लाख कमाएको कम्पनीले चालु आबको सोही अवधिमा यस्तो आम्दानी बढाएर २१ करोड ११ लाखको उचाईमा पुर्याएको छ । सन्  २०१६ मा यो कम्पनीले गरेको कुल आम्दानीमध्ये ७८ प्रतिशत आम्दानी नेपाल विद्युत प्राधिकरणलाई बिजुली बेचरै प्राप्त भएको थियो । 

यसरी, बिजुली बिक्रीबाट हुने आम्दानी र खूद नाफातर्फको बढोत्तरीले समेत कम्पनी निरन्तर प्रगति पथमै लम्किएको बुझ्न गाह्रो छैन । निरन्तर उकालो यात्रा लागिरहेको कम्पनीको एफपीओमा लगानी गर्दा डूब्ने जोखिम पनि कमै हुन्छ ।

विगतका केही वर्षहरुमा कम्पनीले सेयरधनीलाई राम्रैै प्रतिफल दिइरहेको छ । आर्थिक वर्ष २०७२/७३ मा मात्रै यो कम्पनीले लगानीकर्तालाई बोनस सेयर र नगद लाभांश गरी ४७ प्रतिशत बराबरको लाभांश वितरण गरेको थियो । त्यसअघिका वर्षहरुमा समेत लाभांश ३० प्रतिशतभन्दा तल झरेको छैन । लगातार राम्रो लाभांश दिइरहेका कारण समेत बुटवल पावर कम्पनी लगानीकर्ताहरुको नजरमा आकर्षक कम्पनी बन्ने गरेको छ । 

बुटवल पावर कम्पनीको स्थापना सन् १९९६ मा नेपाल सरकार र यूनाइटेड मिसन टु नेपालले संयुक्त रुपमा गरेका थिए । नेपाल सरकारले यो कम्पनीलाई सन् २००३–०४ मा निजी क्षेत्रका लगानीकर्तालाई सेयर बिक्री गरी निजीकरण गरेको थियो । हाल यो कम्पनीमा सांग्रीला इनर्जी लिमीटेडको ६९ प्रतिशत, विद्युत प्राधिकरण र एनआइडिसी डेभलपमेन्टसहित नेपाल सरकारको १०.२ प्रतिशत, इन्टरक्र्याफ्ट नेपाल एएस र नर्वेको ११ प्रतिशत तथा यूनाइटेड मिसन टु नेपालको १.७ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी १३ प्रतिशतको हाराहारीमा सर्वसाधारणको सेयर छ । एफपीओपछि कम्पनीमा सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुग्नेछ ।

कति गर्ने लगानी ?
बुटवल पावर कम्पनीको एफपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार ४ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । यसको अर्थ साथमा ५ हजार  १० रुपैयाँ हुनेले समेत आवेदन दिन सक्नेछन् । धितोपत्र  बोर्डले पछिल्लो पटक सार्वजनिक निश्कासनहरुको बाँडफाँडमा प्रति लगानीकर्ता १० कित्ता सेयर अनिवार्य पाउने व्यवस्था गरेपछि यो कम्पनीमा समेत सो व्यवस्था लागू हुनेछ । यसरी १० कित्ताकै दरले हिसाब गर्दा समेत यो कम्पनीको एफपीओमा ४ लाख ८ हजार १ सय भन्दा बढीले आवेदन दिनुपर्नेछ । 

हालसालैका सार्वजनिक निश्कासनहरुमा परेका आवेदनको अवस्थामा हेर्दा यो कम्पनीको एफपीओमा २ लाखको हाराहारीमा आवेदनहरु पर्नसक्ने देखिन्छ । यसको अर्थ बुटवल पावरको एफपीओमा न्यूनतमा पनि २० कित्ताका लागि आवेदन दिए सेयर पर्ने संभावना प्रवल देखिन्छ । कुनै कारणबस आवेदकको संख्या अचाक्ली नै भयो भने पनि १० कित्ता न्यूनतम सेयर पाउने अवस्था चाहि सुनिश्चित झै देखिन्छ । अन्य सार्वजनिक निश्कासनमा झै आवेदन दिएर हिस्स पर्नुपर्ने अवस्था बीपीसिएलको हकमा हुने देखिन्न । 

यो पनि पढ्नुहोस् :

बुटवल पावरको ४०.८१ लाख कित्ता एफपीओ निश्कासन, प्रतिकित्ता मूल्य ५०१ रुपैयाँ