काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले निश्कासन गरेको थप सार्वजनिक निश्कासन(एफपीओ) कानूनसम्मत भएको धितोपत्र बोर्डले जिकिर गरेको छ । 

बोर्डले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै बुटवल पावर कम्पनीको एफपीओको बिषयमा उत्पन्न द्विविधाहरुलाई चिर्ने  प्रयास गरेको हो ।

प्रवक्ता  निरज गिरीद्वारा प्रकाशित विज्ञप्तिमा पब्लिक कम्पनीको रुपमा रहेको बुटवल पावरले निजीकरण ऐन, २०५० बमोजिम नेपाल सरकारले आफ्नो नाममा कायम रहेको शेयरहरुमध्ये चुक्तापूँजीको ७५ प्रतिशत निजीकरणको प्रक्रियामार्फत संस्थागत लगानीकर्तालाई मिति २०५९।१०।१५ मा बिक्री गरी हस्तान्तरण गरिसकेको बताइएको छ । त्यसपछि २०६०।०६।०६ मा नेपाल सरकारले थप १२ प्रतिशत शेयर सर्वसाधारण तथा कर्मचारीहरुलाई नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा केही प्रिमियम थप गरी सार्वजनिक निष्काशन गरेको देखिने बताइएको छ ।

ती शेयरहरु नेपाल स्टक एक्सचेञ्जमा मिति २०६१।०९।२८ मा सूचीकरण भई दोश्रो बजारमा कारोबार भइरहेको र सोहीबमोजिम उक्त कम्पनीको संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना संचालकको प्रतिनिधित्व समेत रहेको बताइएको छ ।

धितोपत्र सम्बन्धी विद्यमान कानूनी व्यवस्थाबमोजिम सूचिकृत संगठित संस्थाले पुँजी बृद्धि गर्नु परेमा हकप्रद शेयर निष्काशन वा धितोपत्रको थप सार्वजनिक निष्काशन गर्नसक्ने व्यवस्था रहेको  छ । यही व्यवस्था अनुसार बुटवल पावर कम्पनीले नेपाल सरकारको स्वामित्वमा रहेको शेयर बोर्डबाट अनुमतिपत्रप्राप्त निष्काशन तथा बिक्री प्रबन्धकमार्फत सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरी नेप्सेमा सूचीकृत गराई कारोवार समेत भईरहेकोले सो कम्पनीले प्रबद्र्धन गरेको आयोजनाहरुका लागि आवश्यक पूँजी निर्माण र परिचालन गर्न साधारणसभाबाट निर्णय गराई थप सार्वजनिक निष्काशनका लागि अनुमति माग गरेकोले नियमअनुसार नै एफपीओ निश्कासनको अनुमति दिइएको गिरीको भनाई छ।

एफपीओको मूल्य समेत थप सार्वजनिक निष्काशनको मूल्यनिर्धारण सम्बन्धमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ मा तोकिएका मापदण्डहरुबाटै आएको समेत विज्ञप्तिमा जिकिर गरिएको छ ।

‘यस प्रकारको सार्वजनिकनिष्काशनमार्फत नेपाल टेलिकमले समेत नेपाल सरकारको स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा बिक्री गरी धितोपत्रबजारमा सूचीकृत भएर दोश्रो बजारमा कारोवार समेत भईरहेको छ ।’–बुटवल पावरको एफपीओ कानूनसम्मत रहेको दाबी गर्ने बोर्डले उदाहरण दिंदै थपेको छ ।