काठमाण्डौ । बुटवल पावर कम्पनीको एफपीओमा अपेक्षाकृत आवेदन पर्न सकेको छैन । यो कम्पनीले खुलाएको साधारण सेयरको थप निश्कासनको तेश्रो दिनसम्म ४२ हजार १ सय ९० आवेदकबाट ५५ करोड बराबरको मात्र आवेदन परेको हो ।

बिक्री प्रबन्धक  एनएमबी क्यापिटल लिमीटेडका एक कर्मचारीका अनुसार पहिलो दिनमा ८ हजार ३ सय आवेदकबाट ११ करोड ६९ लाख, दोश्रो दिनमा १५ हजार ७ सय ९० आवेदकबाट २० करोड २० लाख र तेश्रो दिनमा १८ हजार १ सय आवेदकबाट २३ करोड १० लाख रुपैयाँ बराबरको आवेदन परेको हो ।

यो कम्पनीको एफपीओमा सुरुवाती चरणको अन्तिम दिन शुक्रबार(आज) हो । तेश्रो दिनसम्म माग अनुसार आवेदन नपरेपछि बुटवल पावर कम्पनीको एफपीओ भर्नका लागि आवेदन दिने समय थप्ने निश्चित झै छ । 

बुटवल पावर कम्पनी लिमीटेडले माघ १५ गते(आजदेखि) ४० लाख ८१ हजार कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गरेको हो ।
यो कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ४०१ रुपैयाँ प्रिमियम थपी प्रतिकित्ता ५०१ रुपैयाँको दरले कुल २ अर्ब ४ करोड रुपैयाँ बराबरको एफपीओ निश्कासन  गरेको हो । 

यो कम्पनीको एफपीओमा माघ १९ गतेभित्र आवेदन दिन सकिनेछ । त्यसबेलासम्म माग अनुसारको आवेदन नपरेको खण्डमा ढिलोमा फागुन १५ गतेभित्र आवेदन दिन सकिने छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार ४ सय कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था र तिनका  शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।

एफपीओ बिक्रीपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २१ करोड र रिजर्ब बढेर १ अर्ब ५० करोडको उचाईमा पुग्नेछ । 

बुटवल पावर कम्पनी लिमीटेडले एफपीओबाट संकलित रकम ३७.६ मेगावाटको काबेली ए हाइड्रोपावर प्रोजेक्ट तथा ३० मेगावाटका ङादी  हाइड्रोपावर प्रोजेक्ट निर्माणमा खर्च गर्ने योजना बनाएको छ । बुटवल पावर कम्पनीको काबेलीमा ५४ प्रतिशत र ङादीमा ९७ प्रतिशत सेयर स्वामित्व रहेको छ ।