काठमाण्डौ । देशकै अग्रणी र भरपर्दो एयरलाइन्स कम्पनी बुद्ध एयरले ‘एटीआर’ तथा ‘बिच’ जहाजहरुको मर्मत सम्भार(एमआरओ)का लागि मन्त्रीपरिषद बैठकले स्वीकृति प्रदान गरेको छ । 

मन्त्रीस्तरीय निर्णयपछि बुद्ध एयरले अन्य जहाज कम्पनीहरुको विमान मर्मत सम्भार गर्ने बाटो खुलेको हो । यो स्वीकृतिपछि विदेशका बिमानहरु समेत मर्मत सम्भारका लागि बुद्ध एयरको ह्यांगरमा आउनसक्ने बाटो समेत खुलेको छ । 

बुद्धले विमान मर्मत सम्भारका लागि बंगलादेशी निजी विमान कम्पनी नोभा एयरसँग सम्झौता गरिसकेको र भुटानको डुक एयरसँग पनि सम्झौताको तयारी भइरहेको बुद्ध एयरले विज्ञप्ति जारी गरी जनाएको छ । 

विमान मर्मत सम्भारका लागि अन्तर्राष्ट्रिय वित्त संस्था आइएफसीको ऋण सहयोगमा केही वर्ष अगाडि बुद्ध एयरले अत्याधुनिक ह्यांगर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा निर्माण गरिसकेको छ । 

बुद्ध एयरका अनुसार एउटा विमान मर्मत सम्भारमा तीस हजारदेखि लाख अमेरिकी डलरसम्म खर्च लाग्नसक्छ । बुद्ध एयरले आफ्नाबाहेक हरेक वर्षमा बढीमा ८ वटा बिमानसम्म मर्मत सम्भार गर्ने क्षमता राख्ने विज्ञप्तिमा बताइएको छ । 

विमान मर्मत सम्भारका लागि ३७ हजार स्क्वायर फिटको ह्यांगर छ । यहाँ अत्याधुनिक मेशिन, टुल तथा जगेडा पार्टपुर्जाका लागि वातावरणीय स्टोर पनि रहेको छ ।

जहाज मर्मत सम्भारका लागि वर्षेनी करोडौं डलर बाहिरिरहेको बेला बुद्ध एयरले एमआरओ पाएपछि सो रकम रोकिने र विदेशी आर्जनको थप बाटो समेत खुल्ने अपेक्षा गरिएको छ । 

बुद्ध एयरसँग विमान मर्मत सम्भारका लागि १४६ जनाको दक्ष अनुभवी टिम रहेको छ । दक्षिण एसियाका अन्य मुलुकहरुलाई पनि बिमान मर्मत सम्भारका लागि नेपाल आउनु सजिलो, सस्तो र पायक पर्ने बुद्ध एयरको दाबी छ । 

विदेशी बिमान कम्पनीहरुलाई पनि मर्मतका लागि नेपाल ल्याउन पहल गर्न सरकारलाई आग्रह गरिसकिएको र यसका लागि सरकारले करमा सहुलियत दिनुपर्ने बुद्ध एयरको माग छ । यसले सरकारी राजश्वमा समेत ठूलो टेवा पुग्ने दाबी एयरलाइन्सको छ ।