– धर्म मलासी

काठमाण्डौ । नेपालका आन्तरिक हवाई कम्पनीहरुले हवाई भाडादर बढाइरहँदा बुुद्ध एयरले भने घटाएको छ।

कारोनाभाइरस रोकथाम तथा नियन्त्रण अभियानअन्तर्गत सरकारले भोलि सोमबारदेखि लागू हुने गरी लामो दूरीका यातायातका साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै यात्रुको सहजताका लागि बुद्ध एयरले प्रमुख सहरको अधिकतम भाडादरमा ४० प्रतिशतसम्म कटौती गरेको हो। भाडादर कटौतीसँगै यात्रुलाई हवाईमार्गबाट आफ्नो गन्तव्य पुग्न सहज र सरल हुने कम्पनीले विश्वास लिएको छ।

बुद्ध एयरले काठमाण्डौ–विराटनगर ५ हजार ५०० रुपयाँ नयाँ अधिकतम भाडादर निर्धारण गरेको छ। यसअघि यो रुटको अधिकतम भाडादर ७ हजार ८७८ रुपैयाँ रहेको थियो।

त्यस्तै नयाँ भाडादरअनुसार काठमाण्डौ–भैरहवा ४ हजार ९०० रुपैयाँ तोकिएको छ। जुन पहिले ६ हजार ७८१ रुपैयाँ थियो। 

यसैगरी बुद्ध एयरले काठमाण्डौ–नेपालगन्ज नयाँ भाडादर ६ हजार ३०० रुपैयाँ कायम गरेको छ। यसअघि यो रुटको अधिकतम भाडादर १० हजार ६२० रुपैयाँ रहेको थियो। 

बुद्ध एयरले काठमाण्डौ–भद्रपुुर नयाँ भाडादर ६ हजार २०० रुपैयाँ कायम गरेको छ। यसअघि यो भाडादर ९ हजार ८०० रुपैयाँ थियो। 

काठमाण्डौ–धनगढीको नयाँ भाडादर भने ७ हजार ९०० रुपैयाँ कायम गरिएको बुद्ध एयरले जनाएको छ। यसअघि काठमाण्डौ–धनगढी भाडादर १४ हजार १२५ रुपैयाँ रहेको थियो।

उता काठमाण्डौ–पोखरा ३ हजार ७०० रुपैयाँ नयाँ भाडादर कायम गरिएको बुद्ध एयरले जनाएको छ। यो रुटको भाडादर यसअघि ५ हजार २७२ रुपैयाँ रहेको थियो।

यसअघि काठमाण्डौ–राजविराजको भाडादर ६ हजार ५४० रुपैयाँ रहेकोमा बुद्ध एयरले कटौती गर्दै ४ हजार २०० रुपैयाँ कायम गरेको छ। 

कम्पनीले नयाँ भाडादर आइतबारबाट लागू हुने जनाएको छ। यो भाडादर लामो दूरीका सवारीसाधन पुनः सञ्चालनमा नआउँदासम्मका लागि कायमै रहने कम्पनीले जनाएको छ।   

यसैगरी कम्पनीले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जहाज, र्याम्प, भ्यान, लगेज, ट्रली, चेकिङ काउन्टर, कार्यालयलगायत सबै ठाउँमा विशेष सरसफाइ र औषधि स्प्रे गर्ने गरेको जनाएको छ। 

कर्मचारीलाई सुरक्षित कार्यसम्पादनका लागि आवश्यकताअनुसार सेनिटाइजर, माक्स र चुस्मा वितरण गरिएको कम्पनीले जनाएको छ। कम्पनीले आफ्ना कर्मचारीलाई संक्रमणबाट बचाउन सचेतना अभियानसँगै केहीलाई घरबाट कामकाज गर्न र अन्यलाई तलबी बिदामा बस्न आग्रहसमेत गरेको छ।