काठमाण्डौ । बजारमा करेक्सनको यात्रा बुधबार पनि जारी रह्यो । यो दिन नेप्से परिसूचकमा ७.०५ अंकको झिनो करेक्सन भएको हो । 

करेक्सनपछि नेप्से परिसूचक १३१३.४२ को विन्दूमा सीमित हुन पुगेको यो दिन कारोबार रकम पनि घटेर १ अर्ब ५८ करोडमा सीमित बन्न पुग्यो । 

बजार विश्लेषक तथा जानकारहरुका अनुसार बुधबारको बजार गिरावट पनि करेक्सनको स्वभाविक निरन्तरता हो । यस्तो ट्रेण्ड अझै केही दिनसम्म रहनसक्ने उनीहरुको विश्लेषण छ । 

लामो समयपछि करिब २० प्रतिशतले बढेको बजारमा प्रफिट बुकिङका कारण करेक्सनको यात्रा सुरु भए पनि ब्रोकरेज हाउसहरुमा देखिएको लगानीकर्ताको बाक्लो उपस्थिति र भीडले बजारमा खरीद चाप अझै नघटेको देखाउँछ । थोरै अंकले नेप्से करेक्सन हुनुको अर्थ पनि बजारमा खरीद चाप खासै घटेको छैन भन्ने नै हो । 

बजारमा बुल रन सुरु भएपछि यसले बीच बीचमा करेक्सनको मोड समात्दै अघि बढ्ने गर्छ । किनेर बुल रनमा बिक्री गरी प्रफिट बुक गर्नेहरुका कारण बजारमा करेक्सन आउँछ । बुल रनमा किन्न नपाएका वा नसकेकाहरुका लागि बजारको यो अवस्था खरीदारीको स्वर्णिम अवसर समेत हुने गर्दछ ।

बुलअघि किनेर राम्रो प्रफिट बुक गर्नका लागि केही लगानीकर्ताले अहिले सेयर बेचिरहेका बेला भरसक एकदुई रुपैयाँ मूल्य घटाएरै विभिन्न कम्पनीको सेयर उठाउने प्रवृति समेत बजारमा देखिएको छ । यसकारणले केही आकर्षक स्क्रिप्टहरुमा बुधबार समेत दिनभरि केही रुपैयाँको राम्रै बार्गेनिङ देखिएको थियो । 

यो दिन नेप्सेका विभिन्न समूहमध्ये जीवन बिमा समूहको उपसूचक मात्र चम्कियो । यो समूहको उपसूचक १६२.७४ अंकले बढ्यो । 

बाँकी सबै समूहको उपसूचकमा रातो पोतियो । 

बैंकिङ समूह ८.६१ अंकले घटेको यो दिन व्यापार समूहमा ११.१३ अंक, होटेल्समा २३.६७ अंक, विकास बैंक समूहमा १७.७२ अंक, जलविद्युत समूहमा १५.९३ अंक, वित्त समूहमा १.९४ अंक, निर्जीवन बिमा समूहमा २३.०५ अंक, उत्पादन तथा प्रशोधन समूहमा २३.५८ अंक, अन्यमा ५.९४ अंक, लघुवित्तमा १०.३६ अंक र म्युचुअल फण्डमा ०.०६ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी कारोबार गर्यो । जनता बैंक नेपालसँगको मर्जरका कारण ६ महिनासम्म कारोबार रोक्का रहेको यो बैंकको मर्जरपछि कारोबार खुल्ला भएको पहिलो २ दिन लगातार पोजिटिभ सर्किट लागेको थियो । तर, बुधबार भने खरीदबिक्री हुनसक्यो । त्यो पनि ६१ करोड १२ लाख बढीको । 

त्यसपछि नेपाल बैंकले ९ करोड ९ लाख बढीको कारोबार गरेको छ । 

यस्तै, सूर्यालाइफ इन्स्योरेन्सले ७ करोड ६९ लाख, एशियन लाइफले ५ करोड ८३ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ५ करोड ८१ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ५ करोड ४१ लाख, एनआइसी एशिया बैंकले २ करोड ९५ लाख, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २ करोड ८६ लाख, गुराँस लाइफ इन्स्योरेन्सले २ करोड ७४ लाख, हिमालयन डिस्टीलरीले २ करोड ४७६लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा एशियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै कमाए । यी दुवै कम्पनीको सेयरमूल्यमा ८ प्रतिशत भन्दा बढीको बढोत्तरी भयो । 

यो दिन पाँचथर पावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य झण्डै ९ प्रतिशतले घट्यो ।