काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुधबार मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् । 

मंगलबार साँझ बसेको मन्त्रीपरिषद बैठकमा सहभागी मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीले यस्तो जानकारी गराएका हुन् । 

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले सरकारमा सहभागी भई सहयोग गर्ने मन्त्रीहरुलाई धन्यवाद दिंदै आफ्नो कुराको सुरुवात गरेका थिए । सो क्रममा उनले आफूले बुधबार केही मन्त्रीलाई विदा गर्न लागेको उल्लेख गर्दै यसलाई अन्यथा नमानिदिन समेत आग्रह गरेका थिए। 

‘म बुधबार केही गर्दैछु ।’ ओलीलाई उद्धृत गर्दै ती मन्त्रीले भने–‘केही साथीहरुलाई विदा गर्नुपर्ने अवस्था भएकोले बुधबार तपाईहरुले कुनै पनि कार्यक्रम नराख्नुहोला।’

मन्त्रीमण्डल पुनर्गठनकै लागि ओलीले बुधबार बिहान ९ बजे नेकपाको सचिवालय बैठक समेत बोलाएका छन्। सो बैठकले सरकारबाट बाहिरिने र भित्रिने मन्त्रीहरुको नाम टुंगो लगाउनेछ । सचिवालय बैठकपछि दिउँसो २ बजेभित्र नै ओलीले मन्त्रीमण्डल पुनर्गठन गरिसक्ने स्रोतले जनाएको छ । 
बुधबार नै नयाँ मन्त्रीहरुलाई सपथ खुवाउने ओलीको तयारी रहेको उनको निजी सचिवालयस्थित स्रोतले जनाएको छ । 

ओलीले सोमबार नै मन्त्रीमण्डल पुनर्गठन गर्न खोजे पनि केही मन्त्रीको नामको विषयमा नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग कुरा नमिलेपछि केही समय लम्बिएको हो। ओली र प्रचण्डबीच सोमबार विदा गर्ने र भित्र्याउने मन्त्रीहरुको विषयमा लगभग सहमति जुटेको बताइन्छ । 

हाल सरकारमा सहभागी भई कार्यसम्पादनमा कमजोर देखिएका मन्त्रीहरुलाई विदा गर्ने ओलीको तयारी छ । रघुवीर महासेठ, थममाया थापा, गोकर्ण बिष्ट, लालबाबु पण्डित, डा. युवराज खतिवडा लगायतका मन्त्रीहरु विदा हुनसक्नेछन्। 

प्रभू साह, सुरेन्द्र पाण्डे, महेश बस्नेत, पम्फा भूसाल, जनार्दन शर्मा लगायतका नेताहरु नयाँ मन्त्रीको रुपमा सरकारमा भित्रिन सक्नेछन् । 

अर्थमन्त्रीको रुपमा सुरेन्द्र पाण्डे आउन सक्नेछन् । तर, ओलीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले हालका अर्थमन्त्री डा. युवराज खतिवडालाई फागुनसम्म निरन्तरता दिनुपर्ने सुझाव दिएका बुझिएको छ । डा. खतिवडा राष्ट्रियसभा सदस्यको रुपमा फागुन २ गतेसम्म मात्र रहनेछन् ।

डा. खतिवडाले आफूलाई हटाउने संकेत पाएसँगै केही दिनदेखि निरन्तर बालुवाटार गएर फागुनसम्म आफूलाई निरन्तरता दिन अनुनय गरिरहेका छन् । तर, डा. खतिवडालाई अर्थमन्त्रीको रुपमा निरन्तरता दिने विषयमा प्रधानमन्त्री ओली सकारात्मक नरहेका बुझिएको छ । यो विषयको अन्यौल बुधबार बिहान नेकपाको सचिवालय बैठकबाट हट्ने एक नेताले जानकारी दिए । 

तर, यदि खतिवडालाई निरन्तरता नदिने विषयमा सहमति भयो भने सुरेन्द्र पाण्डे अर्थमन्त्रीको रुपमा आउनेछन् ।