काठमाण्डौ । साताको पहिलो कारोबार दिन बजारमा उछाल आएको छ । 

बजार सुधारिने सकारात्मक घटनाक्रमहरु विगत केही दिनभित्रै भएका, बैंक तथा वित्तीय संस्थाहरुमा तरलतामा तीव्र सुधार भइरहेको, साना तथा मझौला कर्जा प्रवाहमा नेपाल राष्ट्रबैंकको केही कडा नियमका कारण संकुचित अवस्थामा बसेका बैंकहरुले विकल्पको रुपमा सेयर कर्जालाई प्राथमिकतामा राखेका लगायतका कारणले बजारमा उछाल आएको हो । 

यस्तै, धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले बजारको विकास, सुधार र बिस्तारका लागि तीव्र गतिमा काम अगाडि बढाउने, पेण्डिङ सबै कामको गाँठो फुकाउने र बजारमा स्थायीत्व ल्याउने गरी काम गर्ने लगायतका विषयमा सकारात्मक प्रतिबद्धता आएपछि यसले लगानीकर्ताको मनोबलमा निकै ठूलो परिवर्तन ल्याइदिएको हो । 

धितोपत्र बोर्डका अध्यक्षको सकारात्मक कदम तथा प्रतिबद्धता आएकै बेला सेयर बजारका लगानीकर्ताले नरुचाएका अर्थमन्त्री डा. युवराज खतिवडाले पनि सेयर बजार र यहाँको सुरक्षित लगानी तथा यसको विकास र बिस्तारको पक्षमा सरकारी न्यूज एजेन्सीलाई अन्तर्वार्ता दिएका छन् । यसले समेत बजारमा सकारात्मक प्रभाव पारेको विश्लेषकहरुले बताएका छन् । 

बजारमा बुल रन सुरु भइसकेको उल्लेख गर्दै ब्रोकरहरु ठूला र संस्थागत लगानीकर्ताहरुले समेत दिल खोलेरै सेयर किन्न थालेका जानकारी दिए ।

उनीहरुका अनुसार सेयर बजारमा चमक आएसँगै बैंकका एजेन्टहरु सेयर धितो कर्जा लिइदिन आग्रह गर्दै ब्रोकर हाउसहरुमा पुग्न थालेका छन् । यसले समेत सामान्य लगानीकर्तालाई किन्ने सही बेला यही रहेछ भन्ने उत्साह र उर्जा प्राप्त भएको उनीहरु बताउँछन् । 

बजारमा बुल रन केही समयअघिदेखि नै सुरु भइसकेको थियो । निरन्तर बढिरहेको बजारले अझ राम्रो गति लिने यसअघि नै विश्लेषकहरुले भनिसकेका थिए । उनीहरुले भनेको त्यही शुभ संकेतलाई यथार्थमा परिणत गर्दै नेप्से परिसूचक आइतबार ४२.६१ अंकले बढेर १२५५.७२ को विन्दूमा पुग्यो । 

यो दिन राम्रा र बलिया कम्पनीमा उच्च खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स एकैदिन ८.४७ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ३.२२ अंकको बढोत्तरी भयो । 

यो दिन बजारका १२ वटै उपसमूहमा उछालको अवस्था देखियो । बैंकिङ समूह २७.३ अंकले बढेको यो दिन जीवन बिमा समूहमा ६.८६ प्रतिशत(४०९.२७ अंक)को उछाल आयो । निर्जीवन बिमा समूहमा पनि ८.१७ प्रतिशत(३८४.२१ विन्दू)कोको उछाल देखियो । 

माइक्रोफाइनान्स समूहमा ६.५५ प्रतिशत(१२२.२ अंक)को उछाल देखियो भने विकास बैंक समूहमा ४३.३३ अंक, होटल समूहमा ७५.८४ अंक, व्यापार समूहमा ११.५९ अंक, जलविद्युत समूहमा ३१.०७ अंक, वित्त समूहमा १३.९२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३४.५४ अंक, अन्य समूहमा १७.९२ अंक र म्युचुअल फण्ड समूहमा ०.२४ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता सेयर १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ रुपैयाँमा किनबेच भए । 

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ करोड ८८ लाख बढीको कारोबार गर्यो । 

त्यसपछि ग्रामीण विकास लघुवित्तले ४ करोड ६३ लाख, एनआइसी उशिया बैंकले ४ करोड ७ लाख, शिवम सिमेन्टले ३ करोड ९८ लाख, डिप्रोक्स लघुवित्तले ३ करोड ७६ लाख, फ्रस्ट माइक्रोफाइनान्सले ३ करोड ७४ लाख, नेपाल बैंकले ३ करोड ३ लाख, प्रभू बैंकले २ करोड ९१ लाख, नेको इन्स्योरेन्सले २ करोड ८४ लाख, वोमी लघुवित्तले २ करोड ५९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन अधिकांश कम्पनीका लगानीकर्ता मालामाल भए । बजारमा कारोबार भएकामध्ये १६९ कम्पनीका लगानीकर्ताले कमाए भने १० वटाकाले मात्र गुमाए । ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतको दरले बढ्यो भने २३ कम्पनीको मूल्यमा पनि १० प्रतिशतकै हाराहारीमा बढोत्तरी भयो । 

१० प्रतिशतको हाराहारीमा कमाउने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, स्वाभिमान लघुवित्त, घोडीघोडा लघुवित्त, एशियन लाइफ इन्स्योरेन्स, इन्फिनिटी लघुवित्त, सगरमाथा इन्स्योरेन्स, एनएमबी माइक्रोफाइनान्स, नेशनल माइक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्त, समता लघुवित्त, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, हिमालय जनरल इन्स्योरेन्स, महिला सहयात्रा माइक्रोफाइनान्स, नेशनल लाइफ इन्स्योरेन्स, प्रूडेन्सियल इन्स्योरेन्स, फ्रस्ट माइक्रोफाइनान्स, ग्रामीण विकास लघुवित्त, आरएसडिसी लघुवित्त, सामुदायिक लघुवित्त, प्रभू इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, महुली सामुदायिक लघुवित्त रहेका छन् । 

बुलिस बजारमा यो दिन १० वटा कम्पनीले मात्र गुमाए । गुमाउनेमा माउन्टेन हाइड्रो र सिनर्जी पावरका लगानीकर्ता रहेका छन् । यी दुई कम्पनीको सेयरमूल्य २ प्रतिशत भन्दा बढीले घट्न पुग्यो ।