काठमाण्डौ । बुल रनमा कुदिरहेको बजारमा सोमबार ब्रेक लागेको छ । बजारको स्वभाविक प्रक्रियाअनुसार सोमबार नेप्सेमा करेक्सन भएको हो । यो दिन नेप्से परिसूचकमा २६.५४ अंकको करेक्सन भएको हो । 

बजारमा करेक्सन देखिए पनि कारोबार रकम भने उच्च नै भएको छ । यसले बजारमा सेलर र बायरको सन्तुलित उपस्थिति रहेको भन्दै बजारका जानकार तथा विज्ञहरुले सोमबारको गिरावटलाई छोटो अवधिको करेक्सन भनेका छन् । उनीहरुले बजार एकदुई दिन ब्रेक लाग्दै बढ्दा जोखिम कम हुने भन्दै यो प्रक्रियालाई सामान्य रुपमा लिन र यस्तो अवस्थामा नअत्तालिन लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

सेयर बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालले आफूले यसअघि गरेको प्रक्षेपणझै बजारमा करेक्सन आएको उल्लेख गर्दै नेप्से परिसूचक धेरै घट्यो भने पनि १२८० को विन्दूभन्दा तल नओर्लने दाबी गरे । 'भरसक १३०० विन्दूबाटै बजार फेरि उक्लिन थाल्ने प्राविधिक कोणबाट हेर्दा देखिन्छ ।' बस्यालले भने-'धेरै तल आइहाल्यो भने पनि १२८० देखि तल जाँदैन । त्यसकारण लगानीकर्ताले ढुक्कले सेयर खरीद गर्दा हुन्छ ।' 

सेयर लगानीकर्ता संघका अध्यक्ष तथा पुराना जानकार लगानीकर्ता उत्तम प्रसाद अर्यालले पनि बजारमा आएको करेक्सनलाई सामान्य रुपमा बुझ्न आम लगानीकर्तालाई आग्रह गरेका छन् । 'करेक्सन आए पनि लगानीकर्ताको बलियो मनोबलमा कुनै क्षयीकरण नभएको कारोबार रकमको आकारले देखाउँछ ।' उनले भने-'बजारमा खरीदकर्ता र बिक्रीकर्ता लगभग समान संख्यामा देखिए ।' उनले केही दिनसम्म निकै राम्रोसँग बढेको बजारमा प्रफिट बुकको लहर चल्दा करेक्सन आए पनि यो क्रम एकदुई दिनभन्दा बढी नरहने दाबी समेत गरे । 

यस्तै, स्टक ब्रोकर्स एशोसिएसनका अध्यक्ष भरत रानाभाटले सोमबारको बजार करेक्सनलाई सामान्य भनेका छन् । ‘यो सामान्य करेक्सन हो ।’ उनले बिजशालासँग भने–‘यसले बजारलाई थप मजबुत र परिपक्व बनाउनेछ । उनका अनुसार १३०० भन्दा माथि नै बजार थामिएकोले र सोमबार अन्तिम समयमा एकएक बजारमा खरीदकर्ताको उच्च चाप देखिएकोले बजारको बुलरनले निरन्तरता पाउने दाबी गरे । 

''भरसक १३०० विन्दूबाटै बजार फेरि उक्लिन थाल्छ । तर, १२८० देखि तल जाँदैन ।'' 

सोमबार के के भयो ?
यो दिन नेप्से परिसूचक घटेर १३१७.११ को विन्दूमा सीमित बन्न पुग्यो ।

राम्रा र बलिया कम्पनीको सेयरमा बिक्री चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ४.८६ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.८६ अंकको गिरावट आयो । 

यो दिन बजारका सबै समूहको उपसूचकमा रातो पोतिएको छ । 

बैंकिङ समूह १५.८८ अंकले घटेको यो दिन व्यापार समूहमा ५४.५९ अंक, होटल समूहमा ६४.०९ अंक, विकास बैंक समूहमा ५२.८७ अंक, जलविद्युतमा ४२.२२ अंक, वित्त समूहमा २२.३३ अंक, निर्जीवन बिमा समूहमा ११६.३१ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७१.९१ अंक, अन्य समूहमा १३.५३ अंक, लघुवित्त समूहमा ५७.८८ अंक, जीवन बिमा समूहमा १५४.६५ अंक र म्युचुअल फण्ड समूहमा ०.१८ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १८२ कम्पनीका ५८ लाख ४६ हजार २३८ कित्ता सेयर १ अर्ब ९७ करोड ३ लाख ८७ हजार ९९३ रुपैयाँमा किनबेच भयो। 

सबैभन्दा बढी हिमालयन डिस्टीलरीले २० करोड ९२ लाख बढीको कारोबार गर्यो । 

यसैगरी, एनसीसी बैंकले १३ करोड ३२ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ९ करोड ३० लाख, प्रभू बैंकले ६ करोड ७१ लाख, एनआइसी एशिया बैंकले ५ करोड ९८ लाख, शिवम सिमेन्टले ५ करोड ८० लाख, सूर्या लाइफ इन्स्योरेन्सले ५ करोड ४४ लाख, प्राइम लाइफ इन्स्योरेन्सले ४ करोड ७६ लाख, एनएमबी बैंकले ३ करोड ८० लाख र प्रभू इन्स्योरेन्सले ३ करोड १ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन दुईवटा कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । जनता बैंक नेपालसँग मर्जर सकिएर ६ महिनापछि कारोबार खुलेको ग्लोबल आइएमई बैंकको सेयर मूल्यमा १० प्रतिशत हाराहारीको बढोत्तरीसँगै सर्किट लाग्यो । यो बैंकको सेयरमा उच्च खरीद चाप देखिएको छ । 

यस्तै, मल्टिपर्पस फाइनान्सको सेयरमूल्यमा पनि १० प्रतिशतकै हाराहारीको बढोत्तरी भयो । 

यो दिन सामुदायिक लघुवित्तमा नेगेटिभ सर्किट लाग्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । यस्तै, हिमालयन पावर पार्टनर, पाँचथर पावर, पोखरा फाइनान्स र विशाल बजार कम्पनीका सेयरमूल्यमा ९ प्रतिशत भन्दा बढीको गिरावट आयो ।