काठमाण्डौ । बुलिस गतिमा कुदिरहेको सेयर बजारमा बुधबार फेरि तीनवटा नयाँ रेकर्ड बनेका छन् । 

दैनिकजसो नयाँ नयाँ कीर्तिमान कायम गर्दै अगाडि बढिरहेको बजारमा अर्थमन्त्रीबाट डा. युवराज खतिवडा हट्ने खबरले उछालको अवस्था बनाइदियो । 

प्रमुख सत्तारुढ दल नेकपाको सचिवालयको बैठकले राष्टियसभा सदस्य पदमा बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सोही पदमा डा. खतिवडाले निरन्तरता नपाउने खबरले सेयर बजारका लगानीकर्ताको मनोबल उच्च बनाइदिएको हो । 

अर्थमन्त्री डा. खतिवडालाई लामो समयदेखि सेयर बजारका लगानीकर्ताले बजार विरोधीको रुपमा चिन्ने गरेका छन् । उनको बजारविरोधी कतिपय अभिव्यक्तिका कारण उनी सरकारमा रहने या नरहने खबरले समेत बजारमा उथलपुथल हुँदै आएको छ । 

बुधबार पनि उनी पदबाट हट्ने खबरले बजारमा बहार छायो । बजार विकासका लागि आवश्यक अन्य अवस्था समेत सकारात्मक रहेकै बेला अर्थमन्त्री डा. खतिवडा बाहिरिने खबरले लगानीकर्ताको मनोबलमा थप उर्जा भर्ने काम गरेको छ । यहीकारण यो दिन फेरि ३ वटा नयाँ कीर्तिमान कायम भएका छन् । 

यो दिन नेप्सेमा हालसम्मकै सर्वाधिक ४ अर्ब १५ करोड बढीको सेयर कारोबार कीर्तिमान कायम भएको छ । यस्तै, एकदिन ३२ हजार १५४ वटा कारोबारको अर्को कीर्तिमान पनि कायम भएको छ । यस्तै, हालसम्मकै सबैभन्दा धेरै कित्ता कारोबारको नयाँ कीर्तिमान पनि कायम भएको छ । यो दिन बजारमा १८० कम्पनीका ९९ लाख ६ हजार ९८९ कित्ता सेयर किनबेच भए । 

यो दिन नेप्से परिसूचक ५०.९३ अंकले बढेर १५९६.१३ को विन्दूमा पुगेको छ । 

राम्रा र बलिया कम्पनीको सेयरमा उच्च खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ९.४९ अंकको बढोत्तरी भयो भने फ्लोट इण्डेक्समा ३.४१ अंकको वृद्धि भयो । 

यो दिन नेप्सेका सबै समूहका उपसूचक हराभरा भए । बैंकिङ समूहमा ५०.४७ अंकको उछाल आएको यो दिन जीवन बिमा समूहमा ५७१.१८ अंक, निर्जीवन बिमा समूहमा २३३.५१ अंक, माइक्रोफाइनान्स समूहमा २७.१५ अंक, विकास बैंक समूहमा ३०.६६ अंकको बढोत्तरी भयो । 

यसैगरी, व्यापार समूह ०.९५ अंक, होटल समूह ७३.८८ अंक, जलविद्युत समूह ५.१८ अंक, बित्त समूह ६.५३ अंक, उत्पादन तथा प्रशोधन समूह १४२.८ अंक, अन्य समूह १७.५ अंक र म्युचुअल फण्ड समूह ०.३४ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार ९२ रुपैयाँ बराबरको सेयर किनबेच भई कीर्तिमान कायम भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले मात्रै २१ करोड ९९ लाख बढीको कारोबार गर्यो । 

शिवम सिमेन्टले १८ करोड ४९ लाख बढीको कारोबार गरेको यो दिन नेपाल बैंकले १७ करोड ९६ लाख, हिमालयन डिस्टीलरीले १६ करोड ७१ लाख, नेको इन्स्योरेन्सले ११ करोड २४ लाख, नेपाल इन्स्योरेन्सले १० करोड ९३ लाख, गुराँस लाइफ इन्स्योरेन्सले १० करोड ४१ लाख, एनआइसी एशिया बैंकले १० करोड १२ लाख, एलआइसी नेपालले ८ करोड ३६ लाख र प्रभू बैंकले ८ करोड ३४ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन ६ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लाग्यो । 

एभरेष्ट बैंकको कन्भर्टिबल प्रिफरेन्स सेयरको मूल्य, राष्ट्रिय बिमा कम्पनी लिमीटेड र युनिलिभर नेपाल लिमीटेडको सेयर मूल्य १० प्रतिशतले बढ्यो । कालिका पावर कम्पनी, गुराँस लाइफ र राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको मूल्य समेत १० प्रतिशतकै हाराहारीमा बढ्यो । 

सिभिल लघुवित्तको मूल्य ९.४७ प्रतिशत, जोशी हाइड्रोपावरको मूल्य ९.३८ प्रतिशतले बढ्यो । 

यो दिन रादी विद्युत कम्पनीका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ८.२९ प्रतिशतले घट्यो ।