काठमाण्डौ । बजारमा बुल रन सुरु भएसँगै अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेको संख्या ह्वात्तै बढेको देखिएको छ ।

नेप्सेले हरेक महिना सार्वजनिक गर्ने ब्रोकरवाइज अनलाइन सेयर कारोबारीहरुको पछिल्लो दुई महिनाको तथ्यांकले अनलाइन प्रणालीबाट सेयर कारोबार गर्नेहरुको संख्या ह्वात्तै बढेको देखाएको हो । तथ्यांकअनुसार पछिल्लो एक महिनाको अवधिमा अनलाइनबाट सेयर कारोबार गर्नेहरुको संख्या २ हजार १० ले बढेर १८ हजार ५८३ पुगेको छ । अघिल्लो महिना यो संख्या १६ हजार ५७३ मात्र रहेको थियो ।

पछिल्लो तथ्यांकअनुसार ब्रोकर नं. ३४ भिजन सेक्युरिटिज् प्रालिमार्फत सबैभन्दा बढी १ हजार ४५६ जनाले अनलाइन प्रणालीमार्फत सेयर कारोबार गरिरहेका छन् । तर यो ब्रोकर हाउसमा अघिल्लो महिनाको तुलनामा ७७ जना कम हो । अघिल्लो यो ब्रोकर हाउसबाट १ हजार ५३३ जनाले अनलाइन कारोबार गरिरहेका थिए ।

त्यस्तै गत एक महिनाको अवधिमा ब्रोकर नं. ५७ आर्यतारा र ब्रोकर नं. ३५ कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिबाट क्रमशः १ हजार ४२३ र १ हजार ३८ जनाले अनलाइन प्रणालीबाट कारोबार गरिरहेका छन् । अघिल्लो महिना आर्यताराबाट १ हजार ३९३ र कोहिनुरबाट ८६७ गर्दै आएका थिए । दुवै सेक्युरिटिजमा अनलाइन प्रणालीबाट कारोबार गर्ने लगानीकर्ताको संख्या पछिल्लो एक महिनाको अवधिमा बढेको देखिएको छ ।

यसैगरी अशुतोष ब्रोकरेज, मार्केट सेक्युरिटिज, अरुण सेक्युरिटिज, साइपाल सेक्युरिटिज, प्रज्ञान सेक्युरिटिज र क्रिएटिभ सेक्युरिटिज प्रालिमा सबैभन्दा कम १ सयभन्दा कम लगानीकर्ताहरुले अनलाइन प्रणालीबाट कारोबार गरिरहेका छन् । यी ब्रोकर हाउसबाट क्रमशः ६४, ७८, ७९, ८१, ९६ र ९६ जनाले अनलाइन प्रणालीबाट कारोबार गरिरहेका छन् ।