-भक्तराज रसाइली
काठमाण्डौ । सेयर बजारको नशा चढेपछि हतपत उत्रिन गाह्रो छ । सेयरको नशाले मानिसलाई कस्तोबाट कस्तो बनाउँछ, कहाँबाट कता पुर्याउँछ, कुनै पत्तो हुँदैन । नेपालको सेयर बजारका एक व्यक्ति, जो आफ्नो पोर्टफोलियो करोडौं बनाउन सफल भए, तर अन्त्यमा सेयर बजार नै छाडेर अमेरिका पलायन हुनुपर्ने आपत आइलाग्यो । अमेरिका गएको १ वर्ष पनि बित्न पाएन, सेयरको नशाले निद्रै परेन । फलस्वरुप करोडौं गुमाएको बजारमा सुरु भएको बुल रनमा पैसा छापेर करोडौं कमाउने सपनासहित स्वदेश फर्किएका छन् उनी अर्थात नेपाल पूँजीबजार संघका निवर्तमान अध्यक्ष नवराज सुवेदी ।

दोलखा भीमेश्वर नगरपालिका मकैबारी स्थायी घर भएका सुवेदी सपरिवार हाल अमेरिकामा बस्छन् । उनलाई डिभी चिठ्ठा परेपछि सपरिवार अमेरिका गएका थिए । तर, अमेरिकामा एक वर्ष पनि उनी अडिन सकेनन्, नेपालको सेयर बजारको नशाले घोचिरह्यो, लठ्याइरह्यो । यही नशामा डूबेका सुवेदी अब अधिकांश समय नेपालमा बसेर पूँजीबजारको विकास तथा विस्तार अनि लगानीकर्ताको हकहित तथा सचेतनामा जोड दिने अठोटसहित स्वदेश फर्किएका छन्, परिवारलाई उतै छाडेर । 

दोलखामा १२ कक्षासम्मको अध्ययन गरी उच्च अध्ययन गर्ने ध्येयका साथ राजधानी आएका सुवेदी परिवारका जेठा छोरा रहेछन् । पारिवारिक जिम्मेवारी सम्हाल्न घरमै बस्नुपर्ने भएकाले राजधानी आउन असम्भव थियो । आफूले पालेका बाख्रा, कुखुरा बेचेर, देउसी खेलेको पैसा जम्मा गरेर र टीका लगाएको पैसा सबै एकमुष्ट पारी घरबाट भागेर उनी काठमाण्डौ आएका थिए रे । २०६३ सालमा स्नातक तह पढेर २०६८-६९ मा त्रिवि क्याम्पस किर्तीपुरमा स्नातकोत्तर अध्ययन गर्ने क्रममै अखिल क्रान्तिकारीको महासचिव बनेछन् । सानैदेखि संगठन गर्ने बानी र समाज रुपान्तरणका निम्ति क्रान्तिकारी स्वभाव अँगालेका उनका पिता भने गाउँमा शिक्षक थिए । तत्कालीन समयमा स्ववियु चुनाव २०६८ सालमा स्थगित भएकाले राजनीतिको मूल प्रवाहमा उनी खटिन नपाएकोमा गुनासो गर्छन् । २०६९ सालमा व्यवस्थापन विषयमा स्नातकोत्तर(एमबीएस) उत्तीर्ण गरेपश्चात राजधानीका केही कलेजहरुमा उनले अध्यापन सुरु गरे । दुई तीन वर्ष अध्यापनका क्रममा विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानलाई समेत व्यवहारिक ज्ञानमा बदलेर उपादेयताबारे प्रष्ट पार्थे रे । 

सुवेदी व्यवस्थापनको विद्यार्थी भएकै कारण आफै सेयर बजारमा आएका रहेछन् । कोचिङ कक्षा पढाएर खर्च कटाएर बचेखुचेको पैसा उनले आइपीओमा लगानी गर्न थाले । आफूले पाएका आइपीओ सेयरहरु बेच्न सुरुमा स्टक ब्रोकर नम्बर ३६ सेक्युर्ड सेक्युरिटीजका सन्तोष मैनालीसँग ठोक्किए । आइपीओ बेचेको १० दिनपछि २५-३० प्रतिशत अझ सेयरमूल्य बढेको देखेर नै दोस्रो बजारप्रतिको मोह बढ्दै गएको उनको भोगाइ छ । इच्छा र धैर्यता भए सेयर बजारबाट मनग्यै कमाउन सकिने देखेपछि नै उनी दोस्रो बजारमा सक्रिय बन्ने निचोडमा पुगे ।

प्राथमिक बजारमा सुवेदीले सुरुमा बैंक अफ एशियामा २७ हजार लगानी गरेर १७ कित्ता हात पारे । त्यसपछिका आइपीओहरु भर्दै गएका उनले दोस्रो बजारमा चाहिँ आइपीओ बेच्न खोज्दै जाँदा शंकरदेव क्याम्पस अगाडि रहेको ब्रोकर नम्बर ३६ पुगेको सम्झे । २०७० सालताका दोस्रो बजारमा पाइला राख्दा उनले सुरुमा माछापुच्छ्रे बैंक र सनराइज बैंकका सेयर प्रतिकित्ता १८० र २०० मा सय कित्ताको दरले खरिद गरे । दोस्रो बजारमा लगानी गर्न सुरुमा ५० हजार थाल्दा १ महिनामै ७५ हजार रुपैयाँ पुगेपछि उनमा थप हौसला बढ्दै जान्छ । सही समयमा लगानी गरे राम्रो आम्दानी गर्न सकिने उनको ठम्याइ थियो । बिहानभरि कलेज पढायो अनि बेलुकी पनि कोचिङ सेन्टर, तर दिनभरि ब्रोकर हाउस चाहार्यो, उनको दिनचर्या नै बन्यो ।

'नेप्से बढिरहँदा दिनभरि बजार खुला भए पनि हुन्थ्यो जस्तो लाग्दथ्यो।'सुवेदी भन्छन्-'सर्किट १० प्रतिशतका ठाउँमा २० प्रतिशत भए पनि हुुने नि हामी छलफलका क्रममा यस्ता विषय निकाल्थ्यौं ।' 

अनामनगरमा २०७३ सालतिर भने सेयर लगानीकर्ता संघ जन्माएका उनी महासचिव बने । 'पूँजीबजारका विद्यमान समस्याहरुलाई समाधान गर्न पहल गर्ने लगानीकर्ताको हकहित स्थापना गर्न मैले धेरैलाई नेता बनाएको छु।लगानीकर्ता संघसंगठन पनि निर्माण गरे ।'उनले भने-'पछि सेयर लगानीकर्ता संघमा विचार नमिलेपछि म आफैं निस्केर ०७४ सालमा नेपाल पूँजीबजार संघको नाममा १० जना युवाहरुलाई संगठित बनाएँ ।' 

हिजोआज भने पूँजीबजारका विकास र विस्तारमा अब लगानीकर्ता संघसंगठनको औचित्य नरहेको उनको भनाइ छ । अब रिसर्च, अध्ययन तथा अनुुुसन्धानमा आधारित पूँजी बजार हुने बेला आइसकेको बताउँदै उनले पूँजीबजारमा विज्ञसहित अन्तक्र्रिया कार्यक्रमहरु मात्र अबका दिनमा फलदायी हुनसक्ने बताए । 

दोस्रो बजारमा लगानी गरेपछि सुवेदीले महिनाको एकलाखसम्म कमाउन थाले । शिक्षण पेशाबाट कमाएको पैसा सेयरमा ओइराउँदै गए । उनी बजार छिर्दा नेप्से इण्डेक्स ८०० बाट १८०० मा पुग्दा पैसा कति कमाएको भनेर लेखाजोखा नै हुन छाडेछ । दीर्घकालीनभन्दा पनि अल्पकालीन कारोबार बनेका उनले अनलिमिटेड सेयर किन्ने र बेच्ने गरे । सेयरको नशा चढ्दै गएपछि ऋण लिएरै समेत लगानी गरेका उनले एकैदिन ५ करोडसम्मको सेयर खरिद गरेको पुराना दिन पनि सम्झँदै भने- 'दैनिक ८० लाख घाटा खाएको पनि दिन छ ।' १०-१५ लाख दैनिक घाटा त सम्हाल्दै सम्हाल्दै यहाँसम्म आइपुगे । 

२०७४ मा भएको चुनाव सम्पन्न भएपछि स्थायी सरकार हुने आशामा लगानी बढाउँदै गएका उनले लगानीमैत्री वातावरण सरकारले निर्माण गर्ने कुरामा विश्वस्त थिए । अर्थमन्त्री युवराज खतिवडा आएपछि बजार घट्ने क्रम जारी रह्यो तरलताको संकटले विकराल रुप धारण गर्दै गयो । नेप्से १८८१ को विन्दूमा किनेका सेयरमूल्यमा पहिरो जानुको अर्को पीडा सुवेदीमा छँदै थियो । 

सुवदीले नेपाल बंगलादेश बैंक ४०० प्रतिकित्ता किनेर ११०० प्रतिकित्ता बेच्दा अधिक नाफा कुम्ल्याएको विगत सुनाए । कृषि विकास बैंक, शिखर इन्स्योरेन्स, एनएलजी र नेको इन्स्योरेन्सका क्रमशः प्रतिकित्ता ५००, १ हजार, ७००, एक हजारमा किनेर क्रमशः प्रतिकित्ता १२ सय, ३२ सय, १८ सय र १९ सयमा बेच्न भ्याएका उनले एभरेष्ट इन्स्योरेन्स प्रतिकित्ता २७ सयमा किनेर १३ सयमा बेच्दा सबैभन्दा धेरै घाटा बेहोरेको स्मरण गरे । 

सेयरबाट मनग्यै कमाइ पनि हुन्थ्यो, तर उनले घरजग्गासमेत जोड्ने बुद्धि आएनछ । उनको मनमस्तिष्कमै सेयरको नशा चढेकाले टीका लगाएको पैसाले समेत सेयर किन्थे रे । 'कमाउँदा सफल, गुमाउँदा असफल व्यवस्थापन गर्न जाने मैले ।' उनले भने-'मेरो आफ्नै लोभका कारण पतन भएँ ।' 

नेप्से इण्डेक्स १८ सय विन्दू चुम्दा २५ सय पुग्छ भन्ने अनुमानले लोभ बढेका कारण बजारबाटै हात धुने अवस्थामा सुवेदी पुगेका रहेछन् ।

पूँजीबजारका नियामकीय नेतृत्वसँग सेयर बजारको विकास तथा विस्तारका लागि टेबल टक गरेर आजित भएका सुवेदी बुद्ध हैन जङ्गबहादुर राणा चाहिएको ठहर गर्दै शंकरदेव क्याम्पसमा केही लगानीकर्ताहरुलाई भेला गरेर सशक्त आन्दोलनको मोर्चा बनाएको उनको भनाइ छ । शालीन ढंगले कार्यान्वयनमा नउत्रिने नियामक विरुद्ध जाने भनेर नै २०७५ को मध्यतिर उनले  क्रान्तिकारी छवि भएका हरि ढकाललाई प्रस्ताव गरेको जिकिर गरे । तर त्यही बेला उनकी श्रीमती प्रविना रेग्मीलाई डीभी परेर अमेरिका जानुपर्ने भयो । 

सुवेदी परिवार २०१८ डिसेम्बर महिनामा अमेरिका गयो । ब्रोकरकहाँ रहेको उधारो, बैंक ऋण सबै सेटलमेन्ट गरेर अमेरिका गएका सुवेदी भन्छन्-'६-७ वर्षको मिहिनेत गुमेजस्तो भा’छ । सबै सेयर बजारले खाइदियो । हिजो करोडौं नाफा, आज करोडौं घाटाको पोर्टफोलियो छ । आज नै सेटलमेन्ट गर्ने हो भने पनि ३-४ करोड नेट लसमा छु ।' 

भोलि मार्केट बूम भयो भने अबको बुलिसमा २५ करोड कमाउने आशा रहेको उनको भनाइ छ । 

सुवेदी करोडौंमा खेलेर तैरिन खोज्दा खोज्दै पनि सफल हुन सकेनन् । तर सेयरबाट असफल भए पनि ज्ञान आर्जन भएकोमा सुवेदी खुशी मान्छन् । असफल हुने प्रमुख कारण सुवेदीले उच्च महत्वकांक्षी हुनु र इमोसनलाई नियन्त्रण गर्न नसक्नु नै ठान्दछन् । 'मनोविज्ञानमा आधारित भएर दौडदा आउट अफ कन्ट्रोल हुन पुगे र छोटो समयमा नै पतन पनि भएँ ।'सुवेदीले भने-'हाम्रो बजार वान वे छ, जहाँ लगानी सुरक्षाको अभाव पनि छ ।'

'लगानी विविधिकरण गर्न नसक्नु र इन्ट्री र एक्जिटका बारेमा अब ठूलो पाठ सिकियो ।' सुवेदी भन्छन्-'बजार बूम भएका बेला जसले पनि पैसा दिए, बिना कागजात सहजै, त्यही ऋणको भारले समेत म थिचिन पुगेँ । कहालीलाग्दो अवस्था र डेडलकमा पुगे पनि परिस्थितिलाई सम्हाल्दै अघि बढ्दैछु।महत्वकांक्षाको सीमा निर्धारण र टार्गेट निर्धारण गरिएन भने गुमाउने नै हो ।' 

नियामक निकायहरुमा अहिले पनि समन्वयकै खडेरी भइरहेको बताउने सुवेदी राम्रो कामको क्रेडिट लिने हतारोमा लीन हुने परिपाटी अन्त गर्नुपर्नेमा जोड दिन्छन् । अधिनायकवाद यति हाबी भएको छ कि नियामक र ब्रोकरको मातहतमा लगानीकर्ताहरु बस्नुपरेको छ, तर बिदेशमा चाहिँ लगानीकर्ताहरुको मातहतमा नियामक र ब्रोकर बस्नुपर्छ,उनले आक्रोशित हुँदै भने । नेप्सेको अनलाइन प्रणाली अझै व्यवस्थित गर्न नसकेको उनको आरोप छ । 

अमेरिकी सेयर बजारमा पनि सुवेदी सक्रिय रहेछन् । उनले आफ्नो मोबाइल देखाउँदै भने-'म यहीँबाट पनि सेयर खरिदबिक्री गर्न सक्छु । विद्यार्थी नै छु, सिक्दैछु ।' उनले रविनहुड ब्रोकर चलाउँदा रहेछन् जहाँ उनले ब्रोकर कमिसन नै तिर्न नपर्ने दाबीसमेत गरे । उसो त उनी क्रिप्टो मार्केटमा पनि लगानी गर्दै आएका रहेछन् । 

पचासवटा ब्रोकरहरुको सिण्डीकेट रहेको नेपालको सेयर बजार ब्रोकरहरु संस्थागत नभएकै कारण लगानीकर्ताहरुले सेवासुविधामा कम्प्रोमाइज गर्नुपरेको सुवेदी बताउँछन् । यो सिण्डीकेट तोड्न ब्रोकरहरु संस्थागत भई आइपीओ निष्कासन गर्नुपर्ने उनको माग छ । ब्रोकरेज सेवा उपलब्ध गराउन बैंक वित्तीयसंस्था मात्र हैन कि जोकोहीलाई लाइसेन्स दिइए लगानीकर्ताहरुले प्रतिस्पर्धात्मक सेवासुविधा पाउने उनको दाबी छ । 

सेयर बजारको आकार र पहुँच विस्तार हुँदै गएकाले ब्रोकरको २ करोड चुक्ता पूँजीलाई अविलम्ब ५० करोड बनाउनुपर्नेमा उनको जोड छ । 
वान डोर सर्भिसका लागि पनि नयाँ प्रतिस्पर्धी ब्रोकरको आगमन हुनुपर्ने उनको जिकिर छ । ब्रोकरेज सेवा संस्थागत नभएको अनुभुति भएका कारणसमेत एनआरएनहरु सेयर बजारमा लगानी गर्न हिच्किचाइरहेका उनको बुझाइ छ ।

देशले आर्थिक समृद्धिमा फड्को मार्ने वातावरण भइरहेको र आर्थिक गतिविधिले पूँजीबजारका लागि राम्रो अवसरको ढोका खुल्ने सुवेदी सुनाउँछन् । आर्थिक सूचकहरु सकारात्मक बन्दै गइरहेको वर्तमान परिप्रेक्ष्यमा सूचीकृत कम्पनीहरुका फाइनान्सियल इञ्जिन हेरेर ग्रोथ भएका कम्पनीहरुमा बैंक ऋण लिएर नै लगानी गर्ने अहिले नै उपयुक्त समय भएको उनी सुनाउँछन् ।